देश टुक्र्याउनेखालको स्वतन्त्रता कसैलाई पनि दिन हुँदैन: नेता नेपाल

इनेप्लिज २०७२ असार २७ गते १५:०३ मा प्रकाशित

Nepal Express His Opinion on the New Constitutionकाठमाडौँ, २७ असार । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले देश टुक्र्याउनेखालको स्वतन्त्रता कसैलाई पनि दिन नहुने बताउनुभएको छ ।

राष्ट्रिय ख्रीष्ट्रियन महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उहाँले देशमा सार्वभौमिक अखण्डतामा प्रतिकूल असर पार्ने र देश टुक्र्याउने स्वतन्त्रता दिन नहुने बताउनुभयो ।

नेता नेपालले भन्नुभयो – “देशमा एउटामात्र धर्म हुँदैन, धर्मनिरपेक्ष मुलुक हुनुपर्छ तर सबै धर्म नेपालीपनको माया गर्ने हुनुपर्छ ।”

धर्म निजी आस्थाको विषय भएकाले धर्म र आस्थाका आधारमा राज्यले भेदभाव गर्न नहुने विचार राख्दै उहाँले नेपालमा धार्मिक सहिष्णुता भएको उल्लेख गर्नु भयो ।

प्रत्येक धर्मको पर्वमा बिदा दिने परम्परा ठीक नभएको र यसले मानिसहरुलाई अल्छी बनाउने र देश विकासमा समेत बाधा पुग्ने धारणा राख्दै नेता नेपालले विश्वका विकसित देशमा सार्वजनिक बिदा दिने चलन एकदम कम रहेको छ भन्नुभयो ।
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले धर्म आस्थाको विषय भएकाले धर्मको नाममा राजनीति गर्न नहुने बताउनुभयो ।

उहाँले नेपाली नागरिक भएपछि ख्रीष्ट्रियनले पनि मृत्यु संस्कार गर्न पाउने विषयमा आफूले सरकारका निकायसँग कुरा गर्ने उल्लेख गर्नु भयो ।

एकीकृत नेकपा (माओवादी) का नेता राम कार्कीले सबै धर्महरुको पहल नेपालको आर्थिक, सामाजिक विकासमा हुनुपर्ने र राज्यले पनि सबै धर्मलाई सम्मान व्यवहार गर्नुपर्ने धारणा राख्नु भयो ।
महासङ्घका अध्यक्ष डा सुन्दर थापाले ख्रीष्ट्रियनलाई अन्तिम संस्कार गर्न पाउने विषयमा सरकारसँग सहमति भए पनि कार्यान्वयन हुन नसकेकाले त्यसका लागि पुनः पहल गरिदिन माग गर्दै नेता नेपाललाई ज्ञापनपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया