म्याग्दीका ९१.४१ प्रतिशत घरधुरीमा खानेपानीको पहुँच

इनेप्लिज २०७२ असार २६ गते ४:३८ मा प्रकाशित

Drinking-Waterबाबियाचौर (म्याग्दी), २६ असार । पहाडी जिल्ला म्याग्दीका करिब साढे ९१ प्रतिशत घरधुरीमा खानेपानी सुविधाको पहुँच पुगेको छ ।

चौबीस हजार १४४ घरधुरी रहेको म्याग्दीमा चालु आर्थिक वर्षसम्ममा २२ हजार ७७ घरधुरीमा व्यवस्थित खानेपानी सुविधाको पहुँच पुगेको खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

गत वर्षसम्म ९०.१५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा रहेकामा यस वर्ष सम्पन्न भएका आयोजनामार्फत थप १.२९ प्रतिशत घरधुरीमा खानेपानी सुविधाको पहुँच विस्तार भएको कार्यालयका प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले बताउनुभयो ।

डिभिजन कार्यालयमार्फत यस वर्ष सम्पन्न भएका पाँच वटा आयोजनामार्फत २० हजार जनसङ्ख्या लाभान्वित भएका छन् । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत पनि आधा दर्जन खानेपानी योजना निर्माण सम्पन्न भएका छन् ।

सुरक्षित र सफा मुहानबाट ल्याएको पानीलाई व्यवस्थितरुपमा प्रयोग गरेको अवस्थालाई व्यवस्थित खानेपानी सुविधा भएको मान्ने गरिएको छ । एक नगरपालिका र ३५ गाविस रहेको म्याग्दीमा व्यवस्थित खानेपानी सुविधा पुग्न बाँकी घरधुरी पहिचान गरी खानेपानी सुविधा पु¥याउन प्राथमिकता दिएको प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया