धादिङ, २६ असार । ज्येष्ठ नागरिक जिल्ला सङ्घ धादिङले धादिङबेँसीमा आयोजना गरेको दुई दिने ज्येष्ठ नागरिक स्याहारकर्ता अभिमुखीकरण तालिम हिजो सम्पन्न भएको छ ।
जिल्ला विकास समिति र महिला तथा बालबालिका कार्यालय धादिङको सहयोगमा तालिम आयोजना गरिएको हो ।
तालिम उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले हिजो हामीलाई हिँड्न बोल्न सिकाउने, हाम्रो सुख दुःखलाई आफ्नै सुख दुःख सम्झने हाम्रा बाबुआमा, हजुरबा, हजुरआमालाई आदर र सम्मान गर्नु हाम्रो जिम्मेवारी भएकाले त्यसबाट कसैले भाग्न नहुने बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक प्रकाश मल्ल र महिला विकास अधिकृत सावित्री थापा रावतले आज तन्नेरी भएपनि भोलि वृद्धवृद्धा नै हुने हो भन्ने हेक्का राखी ज्येष्ठ नागरिकको स्याहारसुसार गर्नुपर्दछ भन्दै त्यसका लागि आवश्यक पर्ने सीप र ज्ञान प्राप्त गर्ने तालिम उपयोगी हुने विचार व्यक्त गर्नुभएको थियो ।
ज्येष्ठ नागरिक महासङ्घका सचिव मनोहर उप्रेती र पत्रकार दीपक अर्यालले प्रशिक्षण दिनुभएको तालिममा ज्येष्ठ नागरिक सम्बन्धमा भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले तोकेको सुविधा, सरोकारवाला निकायको जिम्मेवारी तथा भूमिका, उमेर बढी हुँदै जाँदा ज्येष्ठ नागरिकमा देखापर्ने अल्जाइमा रोगले पार्ने प्रभाव र त्यसका लक्षण त्यस्तो बेलामा स्याहारकर्ताले अपनाउनुपर्ने सतर्कतालगायत विषयमा प्रशिक्षण दिएको थियो ।
ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष वासुदेव लम्सालको सभापतित्वमा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया