प्राथमिक तहका दरबन्दीबाट माविस्तरको पढाइ

इनेप्लिज २०७२ असार २६ गते १:३३ मा प्रकाशित

सल्यान, २६ असार । जिल्लाको शारदा नगरपालिका–१२ मा रहेको एक माध्यमिक विद्यालयमा प्रावितहका तीन दरबन्दीबाट कक्षा सञ्चालन हुँदै आएको छ ।

स्यानीखालमा रहेको शिव माध्यमिक विद्यालयले माध्यमिक विद्यालयको अनुमति पाइसकेको भए पनि दरबन्दी स्वीकृत नभएकाले प्रावि तहका दरबन्दीमा रहेका तीन शिक्षकका भरमा माध्यमिक स्तरसम्मको पढाइ सञ्चालन हुँदै आएको हो ।

जिल्ला शिक्षा कार्यालय सल्यानबाट माध्यमिक तहको पढाइका लागि अनुमति दिएको लामो समय बितिसक्दा पनि दरबन्दी स्वीकृत नगरिदिँदा समस्यामा परेको हो ।

विद्यालयमा शिक्षकको व्यवस्था गर्न कुनै स्रोत नहुँदा पनि निजी स्रोतमा उधारोमा शिक्षक राख्दै आएको विद्यालयका प्रधानाध्यापक डिल्लीबहादुर हमालले बताउनुभयो । “विद्यालय सञ्चालनका लागि आर्थिक स्रोत छैन, माध्यमिक तहसम्मको पढाइका लागि निजी स्रोतबाट न्युनतम तलब हुने गरी नौ जना शिक्षक राखेका छौँ, त्यसमा पनि समयमा तलब पाउने अवस्था छैन ।” प्रअ हमालले भन्नुभयो ।

“विद्यालयले आफ्नो पढाइको गुणस्तरमा सुधार गर्न कक्षा १ देखि ६ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउँदै आएको छ । विद्यालयमा सामुदायिक वनले दिने रकमबाहेक अर्को कुनै स्रोत नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर चलाउनेले बताउनुभयो ।

“विद्यालयमा विद्यार्थीको चाप छ, प्राविको दरबन्दी भएका शिक्षकले माविसम्ममा पनि पढाउनुपर्ने बाध्यता छ ।” चलाउनेले भन्नुभयो ।

विसं २०६७ मा विद्यार्थी घटेर ३० जना भएपछि विद्यालयले विद्यार्थीको सङ्ख्या बढाउनका लागि अङ्ग्रेजी माध्यमको पढाइ सुरु गरेको थियो ।

अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु भएपछि विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया