साठी प्रतिशत तरकारी भारतबाट आयात

इनेप्लिज २०७२ असार २४ गते ११:३१ मा प्रकाशित

tarkariभीमदत्तनगर, २४ असार । कञ्चनपुरको भीमदत्तनगरमा ६० प्रतिशत तरकारी भारतबाट आयात गरेर उपभोग गर्नुपरेको छ ।

स्थानीय उत्पादनमा गिरावट आएपछि सीमावर्ती भारतीय बजारबाट तरकारी दैनिक आयात गरेर उपभोक्तासम्म पु¥याइरहेको कञ्चनपुर मण्डी व्यवसायी सङ्घले जनाएको छ । दैनिक आठ क्विन्टल तरकारी यहाँ खपत हुने गरेको जानकारी दिँदै मण्डी व्यवसायी सङ्घका अध्यक्ष तर्कराज भट्टले कुल खपतको ६० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको बताउनुभयो ।

“आठ क्विन्टलमा ६० प्रतिशत भारतबाट आयात हुँदैछ” अध्यक्ष भट्टले भन्नुभयो – “४० प्रतिशत सल्यानबाट तरकारी आउँदैछ ।” केही समयअघिको वर्षाले कञ्चनपुरमा लगाएको तरकारीखेती प्रभावित बनेको भट्टले बताउनुभयो । यहाँ पानीका कारण लगाएको तरकारीखेतीसमेत कुहिएको छ । अब साउनको दोस्रो सातापछि मात्रै स्थानीय उत्पादन बजारमा आउने सम्भावना छ ।

मण्डीमा हाल प्याज, आलु, लौका, सिमला, चिचिन्डोलगायतका तरकारी भारतबाट आयाता गरिँदै आएको छ । बन्दागोभी, गोलभेँडा, काँक्रा र हरियो खुर्सानी सल्यानबाट आयात भइरहेको छ । अन्य समयमा मण्डीमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन गरेको हुने गर्दछ ।

“विभिन्न मौसममा काठमाडौँसम्म पनि यहाँबाट तरकारी निर्यात गर्छौं” अध्यक्ष भट्टले भन्नुभयो – “विगतको तुलनामा भारतबाट तरकारी कमै मात्रामा आयात हुन्छ ।” पछिल्लो समय यहाँ नगदेबालीका रुपमा किसानले तरकारी उत्पादनलाई बढी जोड दिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

“उत्पादित तरकारी खपतको कुनै समस्या यहाँ छैन” वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले भन्नुभयो – “किसान पनि राम्रो आम्दानी हुन थालेपछि यो व्यवसायतर्फ आकर्षित भएका छन् ।”

प्रतिक्रिया