नारायणी नदीमा फोहर फाल्ने कार्य बन्द गर्न निकुञ्जको अपिल

इनेप्लिज २०७२ असार २४ गते ३:१७ मा प्रकाशित

Gandakरत्ननगर (चितवन), २४ असार । चितवन र नवलपरासीको सिमाना भएर बग्ने नारायणी नदीमा फोहर फाल्ने कार्य बन्द गर्न चितवन निकुञ्जले अपिल गरेको छ ।

केही दिनअघि भरतपुर उपमहानगरपालिकाले नारायणी नदीमा फोहर फालेको समाचार बाहिर आएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै निकुञ्जले यस्तो अपिल गरेको हो ।

निकुञ्जका प्रमुख कमलजंग कुँवरले निकुञ्ज ऐन २०२९ मा भएको प्रावधानअनुसार फोहर फाल्नेविरुद्ध कानुनी कारबाही गर्ने बताउनुभयो ।

उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जको नियमावली २०३० को नियम १५ मा निकुञ्ज भएर बग्ने नदी, खोला वा पानीको स्रोतमा विषालु पदार्थ हाल्न वा छर्न अथवा निकुञ्ज पुग्ने गरी अरु तरिकाबाट हाल्न नहुने उल्लेख छ ।

नारायणी नदीमा थुपारेको फोहर बगेर निकुञ्जमा पुगी पानी प्रदूषित हुने र जलचर तथा संरक्षित जनावरमा असर पर्ने, गैँडा, बाघ, हात्ती, गोही तथा चरालाई समेत प्रदूषित पानीले असर गर्ने भएकाले यस्ता गतिविधि नगर्न निकुञ्जले अपिल गरेको जनाएको छ ।

प्रतिक्रिया