जाजरकोट, २३ असार । गेनकोट–१ दल्लीमा नलसिंहगाडको तिरमा वादी बस्ती छ । बस्तीमा पाँच दर्जन बालबालिका छन् । तर, कोही पनि विद्यालय जाँदैनन् । केहीले विद्यालयमा नाम लेखाए पनि अधिकांशले नामसमेत लेखाएका छैनन् ।
विद्यालय नगएर वादी बालबालिका माछा मार्न नलसिंहघाट र भेरी नदी जाने गर्छन् । माछा मार्नु वादी बालबालिकाको दैनिकी बनेको छ । यो उनीहरूको रहर नभई बाध्यता हो ।
अभिभावकसँग बालबालिकाले पनि माछा मार्ने काम नगरे परिवारमा गर्जो टर्दैन । “परिवारका सबैले माछा नमारे त पेट भर्ने र जिउ ढाक्ने समस्या हुन्छ” स्थानीय प्रेम वादीले भन्नुभयो, “यो हाम्रो बाध्यता हो, माछा मारेर नै जीवन गुजारा हुन्छ, अरू काम गर्नलाई उपाय पनि छैन, छोराछोरी पनि यसैमा लाग्छन् ।”
परिवारका ठूलाले जाल र महाजालको प्रयोग गरेर माछा मार्ने गर्छन् । बालबालिका भने खोला र नदीमा पासो थापेर माछा मार्ने गर्छन् । यसरी माछा मारेर नै वादी समुदायको जीविकोपार्जन हुन्छ ।
विद्यालयमा नाम लेखाएका वादी बालबालिकासमेत दिनभर नदी र खोलामा रमाउने गर्छन् । तर, विद्यालय नगए पनि उदार कक्षोन्नति नीतिका कारण ती बालबालिका कक्षा उक्लने क्रम भने रोकिएको छैन । नाम लेखाएकाले दलित छात्रवृत्ति पनि नियमित पाइरहेका छन् ।
वादी समुदायको बस्ती नजिकै कालिमाटी बजार छ । उनीहरू माछा मार्ने बित्तिकै बजारमा लगेर रु ३५० किलोमा बिक्री गर्छन् । “पढेर के हुन्छ ? माछा बेचेर पैसा आउँछ, मन लागेको कुरा किनेर खान पाइन्छ” १२ वर्षीय बालक हीरा वादीले भने । उनले आफूले कमाएको पैसा खर्च गरेर बचेपछि आमाबुबालाई दिने गरेको बताए ।
अहिलेसम्म यो समुदायमा कोही पनि एसएलसी उत्तीर्ण भएका छैनन् । विद्यालय गएका बालबालिकाले पनि ५ कक्षा पछि पढाइ छाड्ने गरेको अभिभावक बताउँछन् । “विद्यालय पठाएर के गर्नु ? पढ्नै मान्दैनन् स्थानीय बुद्धिमान वादीले भन्नुभयो, “पढ्नुभन्दा माछा मारेर पैसा कमाउन रहर गर्छन् ।”
आफ्ना छोराछोरी पढाउने ठूलो रहर भए पनि पढाउनै नसक्ने अवस्था भएको स्थानीय विष्णु वादीले बताउनुभयो । “न बाबाले पढे न बाजेले पढे, यी केटाकेटीले त पढ्लान भनेको पढ्नै मान्दैनन्, स्थानीय विद्यालयका शिक्षक डिल्ली गिरीले भन्नुभयो । आफूहरूले जति प्रयास गर्दा पनि वादी समुदायका बालबालिकालाई विद्यालयमा टिकाइ राख्न नसकेको उहाँको भनाइ छ ।
गरिबीका कारण अति विपन्न अल्पसङ्ख्यक वादी समुदायका बालबालिकालाई विद्यालयको पहुँचसम्म पु¥याउन सरकारले विशेष कार्यक्रम अघि सारे पनि ती बालबालिकालाई कार्यक्रमले समेट्न सकेको छैन ।
जिल्लामा विद्यालय जाने उमेरका करिब आठ हजार बालबालिका विद्यालय बाहिर छन् ।
प्रतिक्रिया