कराेडाैं कस्तुरी’ सार्वजनिक

इनेप्लिज २०७२ असार २२ गते २२:०४ मा प्रकाशित

DSC_1963-335x232काठमाडौ, असार २२ – अमर न्यौपानेको उपन्यास ‘करोडौं कस्तुरी’ मंगलबार राजधानीमा सार्वजनिक गरियो । पछिल्लो उपन्यास ‘सेतो धरती’का लागि मदन पुरस्कार पाएका उनले यो उपन्यासमा शिक्षालाई विषय बनाएका छन् ।

कलाकार हरिवंश आचार्य र शिक्षाविद् केदारभक्त माथेमाले यो उपन्यास सार्वजनिक गरे । शिक्षा प्रणालीको गलत अभ्यासले विद्यार्थीमा पारेको असर र समाजमा निम्तिएको विसंगतिमाथि उपन्यास केन्द्रित भएको शिक्षाविद् माथेमाले बताए ।

हरिवंशले भने अमरको उपन्यास प्रसंग जोड्दै आफ्नो विद्यार्थी जीवनका अनुभव सुनाए । जुन उनले ‘चिना हराएको मान्छे’ मा उल्लेख गरेका छन् । उपन्यासमा हरिवंशलाई नै पात्र बनाइएको छ ।

हरिवंशले घोकन्ते शिक्षाले भएका राम्रो प्रतीभा पनि ओझेल पर्ने गरेको बताए । बुबाले पण्डित बनाउन खोजेको भए पनि आफू विद्यालय जानुको सट्टा काठमाडौंका फिल्म हलमा जाने गरेको सम्झिए । ‘त्यसैले मलाई म भित्रको प्रतीभा पहिचान गर्न सिकायो,’ उनले भने, ‘जुन कक्षा कोठामा शिक्षकको पाठले दिन सकेको थिएन ।’

अमरले करिब १२ वर्ष शिक्षक बनेर भोगेका अनुभव उपन्यासमा समेटेको बताए । उपन्यास फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो । भूकम्पको मार किताब बजारमा पनि परेको भन्दै यो पुस्तकले बजारलाई तताउन सक्ने यसका प्रकाशक अजित बरालले बताए । पुस्तक बजारमा हलचल होस् भनेर पहिलोपटक किताब प्रचारका लागि भिडियो बनाएको समेत उनले बताए ।

इ कान्तिपुरबाट

प्रतिक्रिया