बाढीले पावर हाउस बगाउँदा गाउँ अन्धकार, करोडौँको क्षति

इनेप्लिज २०७२ असार २२ गते ३:३४ मा प्रकाशित

खोटाङ, २२ असार । बाढीले जिल्लाका तीन लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाउँदा खिदिमा र टेम्मामा विद्युत् अवरुद्ध भएको छ ।

शनिबार राति आएको बाढीले खिदिमा–७ स्थित १७ किलोवाट क्षमताको तावा खोला तेस्रो लघुजलविद्युत् आयोजना, खिदिमा–२ सोल्मास्थित ९.५ किलोवाटको खोबुखोला लघुजलविद्युत् आयोजना र टेम्मा–९ मा रहेको नौ किलोवाटको सञ्चहिरा साना लघुजलविद्युत् आयोजनाको पावर हाउस बगाएपछि विद्युत् अवरुद्ध भएको हो ।

दातृ निकायको आर्थिक सहयोगमा स्थानीयवासीले सञ्चालनमा ल्याएको तावाखोला तेस्रो लघुजलविद्युत् आयोजनाको पावर हाउस बगेपछि खिदिमा–४, ५, ६, ७ र ८ तथा मात्तिम–९ र छितापोखरी–९ का २४३ घर विद्युत्विहीन बनेको आयोजनाका कोषाध्यक्ष युवराज कट्वालले जानकारी दिनुभयो ।

यस्तै खोबुखोला लघुजलविद्युत् आयोजना ध्वस्त भएपछि खिदिमा–१ र २ का ७५ घर अन्धकार छाएको छ । सञ्चहिरा साना लघुजलविद्युत् आयोजनाको पावरहाउस बग्दा टेम्मा–९ का करिब सय घर उपभोक्ता अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासी पञ्चुुकुमार राईले जानकारी दिनुभयो । बाढीका कारण ध्वस्त भएको पावर हाउस बनाउन र पुनः विद्युत् सञ्चालन गराउन उत्तिकै समय र खर्च लाग्ने स्थानीयवासीले बताएका छन् ।

भीषण वर्षासँगै आएको बाढीले मेवाखोला हाइड्रोपावर बगाउँदा रु ४० लाख बराबरको क्षति भएको आयोजना प्रमुख ललितकुमार राईले जानकारी दिनुभयो । जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने लक्ष्यका साथ उत्पादन गर्न लागिएको मेवाखोला हाइड्रोपावरको सर्वे मेसिन, मकी जेम्पर, वल्डिङ सामान, गिट्टी, बालुवा, सिमेन्ट, फलामको रडलगायत सामान बगाएको छ । विसं २०७१ मङ्सिरबाट सुरु गरिएको हाइड्रोपावर आगामी असोजसम्ममा सञ्चालनमा ल्याउने गरी निर्माण कार्य थालिएको हो ।

प्रतिक्रिया