पहिरोपीडितलाई प्रहरीले आठवटा टहरा बनाइदियो

इनेप्लिज २०७२ असार २१ गते ३:३३ मा प्रकाशित

ilam_nepal_mapइलाम, २१ असार । पहिरोको जोखिममा रहेका इरौँटार गाविसका १३ जनाको परिवारलाई सुरक्षित स्थानमा सार्न प्रहरीले त्रिपाल लगाएर अस्थायी आवासगृह निर्माण गरिदिएको छ ।

गत मङ्गलबार राति परेको भारी वर्षाले सो स्थानका घरपरिवार पहिरोको जोखिममा परेकाले अन्यत्र सार्न इरौँटारको प्रहरी चौकीले अस्थायी आवासगृह निर्माण गरेको हो ।

इरौँटार–५ का वीरबहादुर राई, अमिरबहादुर राई, यामबहादुर राई, पदमबहादुर राई, तारामान राई, आशवीर राई र तेरिज राईको घर, इरौँटार–७ को कुलबहादुर घताने र इरौँटार–९ को रामकुमार राई, लालबहादुर सारु मगर, अमरबहादुर मगर र पर्शुराम राईको घर पहिरोको जोखिममा परेकाले उनीहरुका लागि त्रिपाल हालेर अस्थायी आवासगृह निर्माण गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । वर्षा हुनसाथ पहिरो खस्ने डरले उनीहरु अस्थायी आवासगृहमा बस्न थालेका छन् ।

दलित छात्रछात्रा पुरस्कृत
यसैगरी प्रवेशिका परीक्षामा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने तीन दलित छात्रछात्रा आइतबार पुरस्कृत भएका छन् ।

दलित जिल्ला समन्वय समिति इलामले प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने ग्रिनभ्याली एकेडेमीकी छात्रा दीक्षान्ती तिरुवालाई रु १० हजार र सामुदायिक तर्फबाट सर्वाेत्कृष्ट अङ्क ल्याउने सिंहदेवी उच्च मावि आमचोकका छात्र युनिस नेपाली र पूर्णस्मारक मावि गोदककी विद्या महरालाई जनही रु पाँच हजारका दरले पुरस्कृत गरिएको छ । प्रवेशिकामा तिरुवाले ८७.७५ प्रतिशत, नेपालीले ७६ र महराले ६४ प्रतिशत नतिजा ल्याएका थिए ।

समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी मदन कोइरालाले दलित समुदायबाट जिल्लामै उत्कृष्ट अङ्क ल्याउनु गौरवको विषय हो भन्दै यसले आगामी दिनमा अरू विद्यार्थीलाई समेत थप हौसला मिल्ने बताउनुभयो ।

प्रतिक्रिया