सांसद विकास कोषबाट स्वरोजगार तालिम

इनेप्लिज २०७२ असार २० गते ४:३६ मा प्रकाशित

काठमाडौँ, २० असार । कागेश्वरी मनहरा नगरपाललिकाका ५० महिला र पाँच पुरुषलाई सांसद विकास कोषको बजेटबाट कृषि र पशुसम्बन्धी तालिम दिइएको छ ।

सभासद् रामेश्वर फुयाँलको सक्रियतामा सोे कार्यक्रम सञ्चालन गरिएको हो । भोर्लेटार विकास समाजको आयोजनामा भएको तालिम कार्यक्रममा कृषि र पशु विज्ञले तालिम दिएका थिए । कोषको रु दुई लाख बजेटमा चार तालिम सञ्चालन गरिएको सभासद् फुयाँलले जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिका–१२ जोरपाटीमा सिर्जनशील महिला समाजको आयोजनामा ७५ महिलालाई अचार बनाउने तथा प्रगतिशील महिला समाजको सक्रियतामा फोहर व्यवस्थापन गरी कम्पोस्ट मल बनाउने तालिम दिइएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ नयाँ पाटीमा युवा जनजागरण समूहको सञ्चालनमा ४० महिलाका लागि १५ दिने सिलाइकटाइ तालिम सम्पन्न भएको छ । तालिम पाएकाले स्वरोजगार भई आयआर्जन गर्न पाएको बताएका छन् ।

शनिबार आलापोटमा आयोजित तालिम समापन कार्यक्रममा सभासद् फुयाँलले बेरोजगारले आयआर्जन गर्न सकून् भनी तालिम चलाइएको बताउनुभयो । “स्वरोजगारका लागि यस्ता तालिमलाई निरन्तरता दिइनुपर्ने र काम गरेर खान लाज मान्नुहुन्न, कुनै काम ठूलो र सानो हुन्न”, सभासद् फुयाँलले भन्नुभयो ।

तालिम पाएका स्थानीयवासी रामबहादुर खड्का कृषि र पशुपालनका लागि तालिमबाट पाएका ज्ञानले फाइदा पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । “यस्तो तालिम पहिल्यै पाएको भए कृषि र पशुपालनबाट धेरै उपलब्धि पाइने रहेछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया