नवलपरासी, २० असार । पछिल्लो समय सार्वजनिक कार्यक्रममा बालबालिकाको प्रयोग बढ्न थालेको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सञ्चालन गर्ने पदयात्रा तथा स्वागत कार्यक्रममा विद्यालयसमेत बन्द गरी बालबालिकाको प्रयोग गर्ने गरेको पाइएको छ ।
पछिल्लो समय जिल्लामा खुल्ला दिसामुक्त घोषणा गर्नेदेखि पूर्ण साक्षर घोषणा गर्नेलगायत कार्यक्रममा स्कुले बालबालिकालाई प्रयोग गरिएको छ । शुक्रबार मात्रै बर्दघाट नगपालिकाले स्थानीय गुराँस नेपाल नामक संस्थालाई प्लास्टिकमुक्त नगरपालिका बनाउने नाममा ४० हजार दिएर बर्दघाट क्षेत्रका विद्यालयका बालबालिकालाई घन्टौँसम्म सडकमा पदयात्रामा गर्दै उतारिएको छ ।
नगरपालिकाले नगरको सामाजिक काममा आएको बजेटको दुरुपयोग पनि गरेको छ । विद्यालयका विद्यार्थीलाई प्रयोग गरेर अन्य संस्थाले दिएको झोला दिँदैमा नगर प्लास्टिकमुक्त नहुने स्थानीयवासी रवि पाण्डेय बताउनुहुन्छ ।
आयोजक संस्थाका अध्यक्षले भने प्लास्टिकमुक्त नगरपालिका बनाउने काममा सबैलाई पत्राचार गरेको बताउँदै अहिलेको कार्यक्रममा संयोगवश विद्यार्थीलाई पनि ल्याइएको स्वीकार्नु भएको छ । पदयात्रामा सहभागी विद्यार्थीले विद्यालय र शिक्षकका कारण आफूहरुले दुःख पाएको दुखेसो गरेका छन् ।
बालबालिका मात्र हैन अभिभावकको समेत यसप्रति असहमति जनाएका छन् । उनीहरुले यस प्रकारको काम रोक्नुपर्ने बताएका छन् । विद्यालयका बालबालिकालाई सडक पदयात्रामा उतार्ने कामका लागि बजेट निकासा गर्ने बर्दघाट नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्याल भने नगरका सबै अभिभावकलाई जानकारी दिन सजिलो हुने भएकाले बालबालिकाको प्रयोग गरिएको बताउनुहुन्छ ।
जिल्ला बालकल्याण समितिका अधिकृत रवि गौतम भने बालबालिकाको दुरुपयोग भएको विषयमा आफूहरुले धेरै पटक आवाज उठाउँदा पनि केही नभएपछि अब छिट्टै सो विषयमा जिल्लाका सबै सरोकारा भएकाहरुसँग अन्तक्र्रिया तथा छलफल गर्ने बताउनुहुन्छ ।
जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले कुुनै पनि सार्वजनिक कार्यक्रममा बालबालिकालाई सहभागी गराउन नपाइने बताउँदै यदि कसैले प्रयोग गरेको भए तत्काल सम्बन्धित स्रोत केन्द्र र विद्यालयसँग जानकारी लिइने स्पष्ट गर्नुभयो ।
प्रतिक्रिया