अस्तित्वको सङ्कटमा माधवनारायण मन्दिर

इनेप्लिज २०७२ असार २० गते ४:३४ मा प्रकाशित

शङ्खरापुर (काठमाडौँ), २० असार । काठमाडौँको पूर्वोत्तरमा अवस्थित ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मल्लकालीन साँखुको माधवनारायण मन्दिर भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

सो मन्दिरमा माघमा साँखु सालीनदीमा मेला लाग्छ । शङ्खरापुर नगरपालिका–११ मा रहेको माधवनारायणका दुई गर्भगृह क्षति भएपछि अहिले मूर्तिलाई भाडामा लिइएको घरमा लगी राखिएको छ । माधवनारायण मन्दिरको सो अवस्थाले यस वर्षको माघ मेला पनि सङ्कटमा पर्ने देखिएको स्थानीयवासी बताउँछन् ।

सो मन्दिरकै नामबाट साँखुमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना माधवनारायण मेला लाग्ने गर्छ । अरनिको राजमार्ग खुल्नुअघि काठमाडौँबाट तिब्बत जोड्ने सहरका रुपमा रहेको साँखु व्यापारिक केन्द्रका रुपमा प्रसिद्ध थियो । त्यस समयमा साँखु, नाङ्लभारे, बाहुनेपाटी, मेलम्ची, नवलपुर, जलवीरे, बाह्रबीसे, तातोपानी हुँदै खासामा व्यापारका लागि आवतजावत हुने गरेको स्थानीय व्यापारी राजेश्वर श्रेष्ठ बताउनुहुन्छ ।

नेवारी भाषामा सक्व भनिने साँखुको शाब्दिक अर्थ तिब्बतमुनि(‘स’ तिब्बत र ‘क्व’ मुनि) भन्ने हुन्छ, जसका आधारमा तिब्बतमुनिको बस्तीलाई साँखु भनिएको बज्रयोगिनी गाविसका पूर्वअध्यक्ष गोविन्दप्रसाद श्रेष्ठ बताउनुहुन्छ । तीन हजार ३१५ वर्ष पुरानो ‘तिब्बतको प्रवेशद्वार’ साँखुको बस्तीको निर्माण योजनाबद्ध रुपमा गरिएको थियो । ऐतिहासिक पात्र मञ्जुश्रीको प्राचीन मूर्ति पनि साँखुमै रहेकाले यस स्थानको महत्व अझ बढेको हो । यसैका आधारमा इतिहासकार जगदीशचन्द्र रेग्मीले मञ्जुश्रीलाई साँखुका हिरो भनी लेख्नुभएको छ । अहिले पनि साँखुमाथिको बज्रयोगिनी मन्दिरमा मञ्जुश्रीको आसन सुरक्षित राखिएको छ ।

सुव्यवस्थित रुपमा निर्माण गरिएको प्राचीन सहर भएकाले आधुनिक इन्जिनियरिङका विद्यार्थी पनि सो सहरको अध्ययनमा आउने गरेको स्थानीय ‘लावण्य सन्देश’ साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठ बताउनुहुन्छ । “सबैजसो इन्जिनियरिङ क्याम्पसका विद्यार्थी प्राचीन समयमै व्यवस्थित रुपमा बनेको सहर भनी अध्ययनका लागि यहाँ आउने गर्छन्, प्रायः नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थी यो सहरको अध्ययनका लागि आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

विसं १९९० को भूकम्पमा साँखुमा धेरै क्षति भएको थिएन । पाँच–छवटा घर भत्किए पनि मानवीय क्षति नभएको बुबाआमाबाट सुनेको पूर्वअध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । अधिकांश मल्लकालीन बनोट रहेको साँखुमा माधवनारायणको नित्य र नैमित्तिक पूजा सञ्चालनका लागि पाटनको मङ्गलबजारबाट राजोपाध्याय थरका पुजारी ल्याइएको थियो ।

यिनै राजोपाध्यायका सन्तति सुदन राजोपाध्यायले अहिले माधवनारायणको पूजा चलाउँदै आउनुभएको छ । माघ शुक्ल पूर्णिमादेखि पौष शुक्ल पूर्णिमासम्म ११ महिना माधवनारायणलाई राखिने गर्भगृह गर्भगृह नाश हुने अवस्थामा रहेको पुजारी राजोपाध्याय बताउनुहुन्छ ।ख“ऐतिहासिक कलाकृति वलम्पु (ब्रह्मपुर, वैकुण्ठपुर) मा क्षति भएको छ, पुरातात्विक, धार्मिक र सांस्कृतिक रुपमा महत्वपूर्ण सहरलाई पहिलेकै अवस्थामा पुनः निर्माण गरिनुपर्छ”, साँखुको सांस्कृतिक सम्पदाका ज्ञाता अधिवक्ता अमिता श्रेष्ठले भन्नुभयो ।

ब्रह्मपुरको दक्षिणी भागको झ्यालमा तामामा सुनको जलप लगाइएको बहुमूल्य कलाकृति जोगाउने समस्या थपिएको पुजारी राजोपाध्याय बताउनुहुन्छ । ब्रह्मपुरमा रहेको दर्शन ढुङ्गाको मूर्तिमा कुँदिएको मल्लकालीन कलाकृतिको अस्तित्व पनि सङ्कटमा परेको छ ।

साँखु क्षेत्रका सम्पदाको अध्ययनमा खटिनुभएका पुरातत्व विभागका प्राविधिक सहायक भीष्म बाँस्कोटा माधवनारायण मन्दिर राखिने पुरातात्विक महत्वको दुवै घर पूर्णरुपमा क्षति भएको बताउनुहुन्छ । “विसं ११६३ मा निर्माण भएको विष्णुका उभिएको (स्थानक), बसेको (आसन) र सुतेको (शयन) अवस्थाका मूर्ति नेपालमा मात्र पाइन्छ, यी तीनै प्रकारका विष्णुका मूर्ति साँखुमा पाइएकाले यो सहर पुरातात्विक, धार्मिक र सांस्कृतिक रुपमा महत्वपूर्ण छ”,बाँस्कोटाले भन्नुभयो ।

आयुध (शङ्ख, चक्र, गदा र पद्म) लिएको नारायणको मूर्ति साँखुमा धेरै छन् । अझ यहाँको नारायणको मूर्तिमा नागको मालासमेत लगाएको भेटिएको छ । विश्वमै अन्यत्रका नारायणको मूर्तिमा नागको माला लगाइएको नभेटिएको विभागका प्राविधिक सहायक बाँस्कोटा बताउनुहुन्छ ।

“नारायण मूर्तिको दुवै हात र गोडामा कली लगाइएको, गलामा आभूषण र जनैका रुपमा समेत नाग नै लगाइएको अलौकिक मूर्ति रहेका छन्”, पुजारी राजोपाध्यायले भन्नुभयो । तीन टाउके तक्षक नाग, ११ टाउके नाग र माघ मेलामा माधवनारायणलाई लगाइने पाँच टाउके वासुकी नागको मालासमेत लगाइएका अद्भूत मूर्ति साँखुमा पाइन्छन् ।

ती नागको प्रत्यक्ष अनुभव गर्नुभएका अधिवक्ता श्रेष्ठ भन्नुहुन्छ, “वि सं २०५८ को माधवनारायण मेलामा व्रत बसेकी थिएँ, भीमा एकादशीका दिनमा दुईपटक स्नान गर्नुपर्ने नियम छ, त्यस दिन स्नान सकेर माधवनारायणको गलामा लगाउने काटिएको नागको माला सफा गर्दै थिएँ, माला लगाइदिने नाग प्रत्यक्षरुपमा प्रकट भई दर्शन पाएँ, व्रतमा बसेका ४५० भन्दा बढीलाई पनि मैले देखाइदिएँ ।”
माधवनारायण व्रतमा बस्दा नियम पालना नगरे धनसम्पत्ति चोरी हुने, अनिष्ट हुने र विपत्ति आइलाग्ने गरेका प्रत्यक्ष अनुभव आफूले देखेको उहाँ बताउनुहुन्छ । यसैकारण प्राचीनकालमा यी नागले अन्यत्र गई दुःख दिन थालेपछि तान्त्रिक विधिले नागलाई काटी साँखुमा राखिएको कथन रहिआएको छ ।

भूकम्पले मन्दिरक्षेत्र भत्किएपछि पुरातत्व विभागको सक्रियतामा भग्नावशेष हटाउन खोज्दा ऐतिहासिक मन्दिरको एक रोपनी जग्गा २०२१ सालमा पुजारी खलक गिरजा राजोपाध्यायका नाममा दर्ता भएको रहस्य खुलेको छ । व्यक्तिका नाममा रहेको घर कसरी भत्काउनुहुन्छ भनी सटर भाडामा लिएर व्यापार गर्दै आएका व्यापारीले विभागलाई प्रश्न गरेपछि भत्किएको मन्दिरको भग्नावशेष हटाउने कार्य रोकिएको विभागले जनाएको छ ।

करिब एक रोपनी जग्गासमेतको घर गिरजा राजोपाध्यायबाट नामसारी भई कपिजा राजोपाध्यायका नाममा आएको तथ्यसमेत वर्षौँपछि सार्वजनिक भएको पुजारी सुदन बताउनुहुन्छ । “हामी पूजाका लागि ल्याइएका हौँ, मन्दिरको जति जग्गा छ, सार्वजनिक हो, ऐतिहासिक र सांस्कृतिक महत्व भएको देशविदेशमा प्रसिद्ध यो स्थलको संरक्षण हुनुपर्छ, कसैले गैरकानुनी ढङ्गले आफ्नो नाममा दर्ता गरेको भए छानबिन गरी कारबाही गरिनुपर्छ”, ३० वर्षदेखि पूजा गर्दै आउनुभएका पूजारी सुदनले भन्नुभयो ।

प्रतिक्रिया