आर्थिक स्रोत जुटाउन नसकेपछि विद्यालय सङ्कटमा

इनेप्लिज २०७२ असार १९ गते ३:४६ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १९ असार । आर्थिक स्रोत जुटाउन नसकेपछि म्याग्दीको दुर्गम क्षेत्रमा सञ्चालित एक माध्यमिक विद्यालय सङ्कटमा परेको छ ।

रुम–९ डाँडागाउँमा स्थापित अमरज्योति मावि निजी स्रोतका शिक्षकलाई तलब खुवाउन र पूर्वाधार निर्माणका लागि आयस्रोत जुटाउन नसकेपछि सङ्कटमा परेको हो । तलब खुवाउने दिगो स्रोत तथा पूर्वाधारको व्यवस्था गर्न नसक्दा २०६८ सालदेखि सुरु गरेको मावि तहको पठनपाठन बन्द गर्नुपर्ने अवस्था आएका प्रधानाध्यापक वीरबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार करिब ३०० विद्यार्थी अध्ययनरत विद्यालयमा निजी स्रोतका पाँचजना शिक्षकलाई तलब खुवाउन मात्र निजी स्रोतबाट मासिक रु ५३ हजार जुटाउनुपर्छ । उचित तलब उपलब्ध गराउन नसक्दा शिक्षकलाई विद्यालयमा टिकाइराख्न नसकेर शिक्षक फेरिरहनुपर्दा पठनपाठन प्रभावित बनेको प्रधानाध्यापक पुनले बताउनुभयो ।

देउसीभैलो, लाहुरे स्वागत, चन्दा सङ्कलन र घाँस बिक्रीको माध्यमबाट निजी स्रोतका शिक्षकलाई तलब खुवाउन आर्थिक स्रोत जुटाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थमबहादुर पुनले बताउनुभयो । सुरुका वर्षमा अभिभावकले सहयोग गरे पनि निरन्तर चन्दा दिनुपर्ने भएपछि उनीहरु नै दिक्क भएकाले विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने अवस्था उत्पन्न भएको अध्यक्ष पुनको भनाइ छ ।

दलित र मगर समुदायका विपन्न वर्गका न्यून आयस्रोत भएका अभिभावकले नियमित चन्दा दिन नसक्ने बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अनुसार प्रत्येक अभिभावकबाट विद्यालयले वार्षिक रु पाँच हजार चन्दा, लाहुरे स्वागत र देउसीभैलोको माध्यमबाट उठाउने गरेको छ । गाउँमै मावि तहको कक्षा सञ्चालन भएपछि डाँडागाउँका बालबालिकालाई निमावि उत्तीर्ण गरेपछि थप शिक्षा हासिल गर्न दैनिक चार घन्टा पैदल हिँड्नुपर्ने, घर छाडेर डेरामा बस्नुपर्ने र पढ्नै छाड्नुपर्ने समस्या भने हटेको छ । निमावि तहका लागि पूर्वाधार पर्याप्त भए पनि मावि तहका लागि आवश्यक सुविधायुक्त भवन, विज्ञान प्रयोगशाला र छात्रावासको अभाव छ ।

प्रतिक्रिया