काठमाडौँ, १६ असार । हिलो खेल्ने क्रममा महिलासँग अशोभनीय व्यहार देखाएका कृषिमन्त्री हरि पराजुलीसँग उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले स्पष्टीकरण लिएका छन् । बुधबार अपरान्ह ४ बजे गृह मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा बोलाएर गृहमन्त्री गौतमले अशोभनीय व्यवहार देखाएको भन्दै पराजुलीलाई हकारेका हुन् । तनावपूर्ण मनिस्थतिमा देखिएका कृषिमन्त्री पराजुलीले भने मंगलबारको घटनालाई ‘असार १५ को रमाइलो मात्रै’ भएको जबाफ दिए । ‘मेरो खराब नियत थिएन, मिडियामा आएको जस्तो पनि होइन् ,’ मन्त्री पराजुलीको स्पष्टीकरण थियो, ‘असार १५ को रमाइलो भन्दा बाहेक केही थिइन ।’ कृषि मन्त्री पराजुली उपप्रधानमन्त्री गौतमका विश्वासपात्र मानिन्छन् । गौतमकै आर्शिवादमा उनले मन्त्री बन्ने मौका पाएका थिए । संचारमाध्यम र सामाजिक सञ्जालमा समेत चर्को विरोध भएपछि कृषि मन्त्री पराजुलीले बिहीबार पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । पत्रकार सम्मेलनमा उनलाई हिलो खेल्न बोलाउने मनोहरा मिश्रित कृषक समूह र महांकाल सफल कृषक समूहका महिला पनि उपस्थित हुने बताइएको छ । यद्यपि समय र स्थान भने तय हुन बाँकी रहेको बताइएको छ । कृषि मन्त्रीको असोभनीय कार्यको आफ्नै पार्टी नेकपा एमाले र पार्टीबाहिर पनि चर्को विरोध भएको छ । यसअघि पनि सार्वजनिक कार्यक्रममा सुर्ती मोलेर खाएको विषयमा उनी यस्तै विवादमा तानिएका थिए ।
प्रतिक्रिया