छुर्पी उद्योगमा आगलागी, पैँतालीस लाखको क्षति

इनेप्लिज २०७२ असार १६ गते ११:०९ मा प्रकाशित

aaglagi1धनकुटा, १६ असार । धनकुटाको परेवादिन–६ सिधुवाबजार नजिकको छुर्पी उद्योगमा गएराति भएको आगलागीबाट करिब रु ४५ लाख बराबरको क्षति भएको छ ।

साँझ करिब ७ बजे विद्युत् सट भएर उद्योगमा लागेको आगो नियन्त्रणमा आउन झन्डै डेढ घन्टा लागेको थियो । धनकुटा सदरमुकामबाट गएको वारुणयन्त्रको सहायतामा प्रहरी र स्थानीयवासीले राति करिब ८ः३० बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीका कारण दूधबाट छुर्पी बनाउन प्रयोग गरिने मेसिनसहित उद्योगका सम्पूर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिका–१२ का काँसीनाथ निरौलाले परेवादिन–६ का शिवकुमार श्रेष्ठको घरमा सो उद्योग सञ्चालन गर्दै आएका थिए । आगलागीबाट उद्योग सञ्चालन भएको घर पूर्ण रुपमा क्षति भएकाले श्रेष्ठ परिवारको लत्ताकपडा, खाद्यान्नलगायत सामग्रीसमेत जलेर नष्ट हुँदा करिब ४५ लाख बराबरको क्षति भएको धनकुटाका प्रहरी प्रवक्ता डम्बरबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया