चितवन, १६ असार । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले माथिल्लो दर्जाको आडमा प्रहरीले कानुन मिच्ने काम गर्न नहुने बताउनु भएको छ ।
प्रहरी सहायक निरीक्षकको १५९ औँं आधारभूत तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले कानुन मिचेर काम गर्ने जोकोहीलाई प्रहरी सङ्गठनले कारबाही गर्ने बताउनुभयो ।
सामाजिक त्रास नियन्त्रणका लागि कार्यक्षेत्रमा सङ्गठन कटिबद्ध रहने बताउँदै उहाँले नागरिक सम्मानलाई अझै उच्च राख्न निर्देशन दिनुभयो ।
प्रहरी सङ्गठन कसैको पेवा बन्न नसक्ने बताउँदै उहाँले सङ्गठनको गरिमालाई उच्च सम्मान गर्दै यो अवस्थासम्म आइपुगेको बताउनुभयो । हावा भरेर कसैले उडाउन चाहँदैमा सङ्गठन नउड्ने बताउँदै उहाँले प्रहरी सङ्गठनको लामो इतिहास कसैले मेट्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले नागरिक सेवामा कटिबद्ध भएर लाग्न दीक्षित भई कार्यक्षेत्रमा जान लागेका प्रहरी सहायक निरीक्षकहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा समादेशक रमेश खरेलले सपथ गराउनु भएको थियो भने तालिम प्रतिवेदन प्रहरी नायव उपरीक्षक बिमलराज कँडेलले प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा १६ महिलासहित तीन सय ५० जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए ।
प्रतिक्रिया