बिरिङको बाढीले खुदुनाबारीबासी त्रसित, रतुवामा एक बेपत्ता

इनेप्लिज २०७२ असार १६ गते १०:३८ मा प्रकाशित

लक्ष्मी काफ्ले

Photo2591बिर्तामोड, १६ असार ।  गएराति परेको घनघोर वर्षासँगै बिरिङ खोलाको बाँध फुटेर पानी पसेपछि झापा खुदुनाबारीको १ र २ नम्बर वडाका स्थानीयबासी त्रसित बनेका छन् । साधुटारको पूर्वतर्फ टप्पु, सिस्ने लगायतका क्षेत्रमा रातिदेखि नै पानी पसेपछि स्थानीय त्रसित बनेका हुन् ।

स्थानीय महिला गंगा भुजेलका अनुसार दुई ठाउँबाट खोलाको पानी गाउँमा पसेको छ । बाँध फुटेको ठाउँमा स्काभेटर पुगेपनि थुन्न सम्भव नभएको उनले बताइन् । उनले भनिन्– ‘आज राति कहाँ जाने, के गर्ने भन्ने दोधारमा छौं ।’ जताततै जलमग्न भएपछि सो क्षेत्रका बासिन्दाले घरमा रात कटाउने अवस्था छैन । कोही घरभित्रको पानी फल्न त कोही घरको सामान सार्नमा नै व्यस्त थिए ।
‘मान्छेको घरभरी, खेतभरी पानी–पानी छ,’ सिस्नेकी गीता भण्डारीले त्रसित मुद्रामा भनिन्– ‘कसैले थुन्ने प्रयाससम्म गरेका छैनन् । घरभित्र पानी पसेर भान्साकोठाको सबै सामान बगाएको स्थानीय वृद्ध गोपीलाल खड्काले बताए । ‘खेतमा भएको बाली सबै लग्यो, पानी थुन्न सकेनन्,’ उनले भने– ‘राति कस्का घरमा जानु हो थाहा छैन, घरभित्रको सामान चाहिँ बल्ल हटायौं ।’

यता बिरिङ खोलाले नै राति १ बजेदेखिे डाँगीबारी गाविसको वडा नम्बर २, ३ र ९ मा प्रवेश गरी क्षति गरेको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयबहादुर राउतले जानकारी दिए । राति गाउँमा पानी पसेको थाहा पाउनासाथ घैलाडुब्बाबाट प्रहरी परिचालन गरिएको राउतले बताए । डाँगिबारीका ४५ घर जोखिममा रहेको उनले जानकारी दिए । बेलुका पानी बढ्यो भने उद्धार गर्न गाह्रो हुने भएकाले स्थानीयलाई राति घरमा नराख्ने राउतले बताए । । रेडक्रससँग समन्वय गरेर स्थानीयलाई स्कूलमा राख्ने व्यवस्था मिलाउन लागेको डीएसपी राउतले बताए । बिस्तारै पानीको वहाव कम भएपनि राति बढ्न सक्ने हुँदा क्षति हुने सम्भावना अझै रहेको राउतको भनाई छ ।

एक बेपत्ता
अविरल वर्षाका कारण झापाका विभिन्न खोलामा आएको बाढीका कारण एक व्यक्ति वेपत्ता भएका छन् भने ७ घर बगाएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार रतुवा खोलामा आएको बाढीले बगाएर इलामको चुलाचुली–६ निवासी ४८ वर्षीय सूर्यकुमार राई बेपत्ता बनेका छन् । उनलाई आज विहान झापाको दमक–१ र लखनपुर भएर बग्ने रतुवा खेलेले बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी दिए ।
11714467_821056144674230_1873037904_nविरिङ खोलामा आएको वाढीकै कारण राजगढका एकसय घर, कनकाई नदीमा आएको बाढीले टाघनडुव्वा र शरणामतीका एक सय २५ घर, मेची खोलामा आएको बाढीले मेचीनगर नगरपालिकामा २० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै रतुवा खोलामा आएको बाढीले दमक ७ र १५ नम्वर वार्डमा कटान सुरु गरेको प्रहरीले जनाएको छ । यता टिमाई खोलामा आएको बाढीले शान्तिनगर–३ मा रहेको धुलावारी–वाहुनडाँगी सडक खण्डमा पर्ने कलभर्ट बगाउँदा सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ । बाढीका कारण झापाका सयौं घर डुवानमा परेपछि जिल्ला दैविप्रकोप उद्धार समिति र नेपाल रेडक्रश सोसाइटी झापाले उद्धार कार्य सुरु गरेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया