मास्को, २९ जून २०१५ (सोमवार) । रुसका एक वरिष्ठ राजनीतिज्ञ तथा प्राज्ञ एभ्गेनी प्रिमाकोभको देहान्त भएको दुःखद समाचारले विशाल रुस शोकाकूल भएको छ । गतः २६ जूनका दिन उनको देहावसान भएको थियो र ३ दिनपश्चात् उनको पार्थिक शरीरलाई राजकीय सम्मानका साथ नोभोदेभिच्ये मोनेष्ट्रीको परिसरमा रहेको मास्कोको प्रतिष्ठित तथा प्रसिद्ध चिहानघारीको केन्द्रीयस्थलस्थित उद्यानपथमा रुस महासंघका प्रथम राष्ट्रपति बोरिस एल्चिनको समाधिनेरै रुसी अर्थाडक्स चर्चको विधिअनुसार दफनाइयो ।
गरें अठोट मैले यो : हुन्छु कर्मठ नित्य म ।
सास फेर्दै रहेसम्म सदा अडीग बन्छु म ।।
यी दुई पंक्ति रुसका कुनै नामी कविको कलमबाट निसृत भएका होइनन्, बरु रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मास्कोको केन्द्रमा रहेको रुसी भाषामा ‘कलन्नी जाल’ भन्ने प्रसिद्ध समारोह भवनमा २९ जूनका दिन सम्पन्न भव्य शोकसभामा बोल्दै महान् नागरिक भनेर सम्बोधन गरेका रुसका विभूति दिवंगत एभ्गेनी प्रिमाकोभको लेखनीबाट निसृत भएको कविताबाट लिइएको हो । त्यस दिन बिहानैदेखि रुसका सबै विचारधाराका प्रतिनिधिहरुले लाम लागेर कलन्नी भवनमा शवपेटिकामा राखिएका दिवंगत एभ्गेनी प्रिमाकोभसंग अन्तिम बिदा लिन उनको शवनेर दुई थुँगा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । रुसका राष्ट्रपति भ्लामिमिर पुटिन, प्रधानमन्त्री दिमित्री मेद्भेदोभ, परराष्ट्र मन्त्री सेर्गेइ लाभ्रोभलगायत मन्त्रीहरु, रुसको संसदका सभामुख र जनप्रतिनिधिहरु मात्र नभई पूर्वसोभियत संघका प्रथम र अन्तिम राष्ट्रपति मिखाइल गोर्बाच्योभ, प्रथम नारीअन्तरिक्षयात्री भालेन्टिना तेरेश्कोभा, कम्युनिष्ट नेता गेन्नाडी जुगानोभ, लिबरल-डेमोक्राटिक नेता भ्लादिमिर झिरिनोभ्स्की, वैज्ञानिक तथा सांस्कृतिक कार्यकर्ताहरु आदि रुसका लब्धप्रतिष्ठ गण्यमान्य व्यक्तिहरुका साथै मास्कोका सर्वसाधारण नागरिकहरुले पनि दिवंगत प्रिमाकोभसमक्ष नतमस्तक भई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
रुसका राजनेताद्वय पुटिन तथा मेद्भेदेभको श्रद्धाञ्जली मन्तव्यपश्चात् त्यहाँ उपस्थित शोकसन्तप्त परिवारजनको तर्फबाट दिवंगत एभ्गेनी प्रिमाकोभका नाति युवापत्रकार एभ्गेनी प्रिमाकोभले भावुक हुदै निकै सारगर्भित मन्तव्य प्रस्तुत गरेर अन्त्यमा ताली बजाएर आफ्ना प्रिय बाजेको सम्मान जनाउने आग्रह गर्दा करतलध्वनि गुञ्जायमान भएको थियो ।
शोकसभाको समाप्तिपश्चात् रुसी अर्थाडक्स चर्चका पेट्रिआर्क किरिल्लले समेत साथ दिइएको शवयात्राले सैनिक गारथका साथ नोभोदेभिच्ए मोनेष्ट्रीतर्फ प्रस्थान गर्यो । पत्रकारदेखि प्राज्ञ बनेर देशको प्रधानमन्त्रीसम्मको जीवनपथ पार गर्ने एभ्गेनी प्रिमाकोभले जीवनको ८५ वसन्त पार गरेर ८६-यौ वसन्तमा प्रवेश गरेकै समयमा दुर्दमनीय रोगले उनको प्राण लियो । रुसका सबै विचारधाराका आमसंचार माध्यमले रुसका एक सर्वमान्य राजनेताको निधन भएको क्षणदेखि नै उनकै विषयलाई प्रमुख समाचार बनाएको थियो ।
सरकारी टेलिभिजनद्वारा २९ जूनको बिहानैदेखि साँझसम्म दिवंगत एभ्गेनी प्रिमाकोभसंग अन्तिम बिदाई र उनको अन्तेष्टिको सम्पूर्ण क्रियाकलापको प्रत्यक्षवर्णन प्रसारित गरिएको थियो । रुसी अर्थाडक्स चर्चका पैट्रिआर्कले स्वयं नै दिवंगत एभ्गेनी प्रिमाकोभको अन्तेष्टि कर्म सम्पन्न गर्ने सदीक्षा जनाएर नोभोदेभिच्ए मोनेष्ट्रीको चर्चमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सबै नेताहरुको समुपस्थितिमा पूजापाठ सम्पन्न गर्नुका साथै मलामीको सहभागी बनी शवपेटिकाको पछिल्तिर विस्तारै हिंडेर चिहानघारीसम्म नै पुगी त्यहाँ सम्पन्न गर्नुपर्ने कर्मकाण्ड पनि सम्पन्न गरेका थिए । शवपेटिका चिहानमा गाड्ने क्रममा सैनिक टुकडीले शोकसूचक बन्दुक पडकाएपछि परिवारजन र राष्ट्रपतिलगायत शवयात्राका सहभागीहरु सबैले चिहानमा दुई मुठी बालुवामाटो हालेर दिवंगत एभ्गेनी प्रिमाकोभको अन्तिम संस्कार सम्पन्न गरेका थिए । तत्पश्चात् सैनिक टुकडीद्वारा चिहानस्थलनेर मार्चपाष्ट गरेर राजकीय सम्मान जनाइएको थियो ।
आज म दिवंगत एभ्गेनी प्रिमाकोभको विषयमा केही शब्द कोरेर नेपाली पाठकवृन्दको ध्यान किन आकर्षित गराउन गइरहेको छु भन्ने नै सर्वप्रथम चर्चा गर्न चाहन्छु । कुरा के त भने एभ्गेनी प्रिमाकोभलाई मैले व्यक्तिगत रुपमा नचिने तापनि प्रत्यक्ष्य र अप्रत्यक्ष रुपमा देख्ने र केही वर्ष एकै भवनभित्र कार्य गर्ने समेत सम्भावना पाएको थिएँ ।
एभ्गेनी प्रिमाकोभको जन्म २९ अक्टोबर १९२९ का दिन तत्कालीन सोभियत संघअर्न्तर्गतको उक्राइना गणराज्यको राजधानी कीभमा भएको हो । सन् १९५३ मा उनले मास्को प्राच्यविद्या संस्थानको अध्ययन समाप्त गरेर सन् १९५६ मा मास्को राजकीय विश्वविद्यालयबाट विद्यावारिधिको प्राज्ञिक उपाधि हासिल गरेका थिए । यस घटनाको १० वर्षपछि मैले पनि यसै विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तरको डिग्री प्राप्त गरेको थिएँ भने उनले पत्रकारको पेशा अपनाएर सन् १९६२ सम्म रेडियो मास्कोमा अरब भाषाको प्रसारणको नेतृत्व गरेका थिए । त्यसको १ वर्षपछि मैले पनि यसै भवनमा सन् १९६३ को अक्टोबरदेखि रेडियो मास्कोको नेपाली कार्यक्रम संचालकको रुपमा काम गर्न थालेको थिएँ । उनी सन् १९६५ सम्म सोभियत संघको प्रमुख समाचारपत्र ‘प्राभ्दा’ मा पर्यवेक्षक तथा पछि सन् १९७० सम्म मध्यपूर्वका देशहरुका लागि विशेष सम्वाददाताको हैसियतले कार्य गरिरहेको समयमा म पनि पत्रकारको दायित्व वहन गर्दै थिएँ । सन् १९७० देखि १९७७ सम्म एभ्गेनी प्रिमाकोभ सोभियत विज्ञान प्रज्ञाप्रतिष्ठानअर्न्तर्गत प्राच्यविद्या संस्थानमा उपनिर्देशकको रुपमा कार्यरत रहँदा म पनि त्यसै संस्थानमा विद्यावारिधिका लागि ‘नेपालको साहित्यालोचनात्मक चिन्तन’ भन्ने विषयमा शोधकार्यमा संलग्न हुन पुगेँ । त्यतिखेर मास्कोको आर्म्यान्स्की पेरेउलक सडकमा रहेको प्राच्यविद्या संस्थानको सानो भवनको कोरिडोरमा कैयौपल्ट उनीसंग मेरो जम्काभेट पनि भएको हुँदो हो, तर उनी अरबी भाषाका ज्ञाता र अरव देशहरुको सभ्यता र संस्कृतिका विशेषज्ञको हैसियतले मध्यपूर्वका देशहरुको अध्ययन-अनुसन्धानमा संलग्न थिए भने म चाहिं नेपाली साहित्यको अनुसन्धानमा संलग्न रही भारतवर्षको साहित्य र भाषा अनुसन्धान विभागसित सम्बन्धित थिएँ ।
एक विख्यात प्राच्यविद्को रुपमा एभ्गेनी प्रिमाकोभको कलमबाट कैयौ वैज्ञानिक कृतिहरु निसृत भएका छन् । सन् १९८५ देखि १९८९ सम्म उनले विश्व अर्थतन्त्र तथा अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानको निर्देशकको रुपमा काम गरेपछि मिखाइल गोर्बाच्योभको पालामा तत्कालीन सोभियत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्य बन्नुका साथै सन् १९९१ सम्ममा पोलिटब्युरोको सदस्यताका लागि उम्मेदवारसम्म बन्ने अवसर पाए । सन् १९८९ को जूनदेखि १९९० को सेप्टेम्बरसम्म एभ्गेनी प्रिमाकोभ सोभियत संघको सर्वोच्च सोभियतको अध्यक्षजस्तो उच्च पदमा समेत बहाल रहेका थिए । यसरी सोभियत सत्ताकालमा उनी सोभियत संघको एक कर्णाधार राजनेता बनिसकेका थिए ।
सोभियत संघका लागि जटिलतम घडीमा सन् १९९१ को सेप्टेम्बरमा सोभियत राष्ट्रपति मिखाइल गोर्बाच्योभबाट एभ्गेनी प्रिमाकोभलाई वाह्य गुप्तचर विभागजस्तो संवेदनशील निकायको नेतृत्व गर्ने अभिभारा सुम्पिएको थियो र सोभियत संघको विघटनपश्चात् पनि सन् १९९६ सम्म नै उनले नयाँ रुसमा पनि यही कार्यभार वहन गरेका थिए ।
त्यतिखेर राष्ट्रपति बोरिस एल्चिनको पालामा देशका जनताले रुस महासंघको परराष्ट्र मन्त्रालयलाई संयुक्त राज्य अमेरिकाको हितसाधन गर्ने निकायको रुपमा विचार गर्न थालेका थिए । राष्ट्रपति पदका लागि निकटवर्ती आम चुनावलाई मध्यनजरमा राखेर बोरिस एल्चिनले एभ्गेनी प्रिमाकोभलाई सन् १९९६ को जनवरीमा रुसको परराष्ट्रमन्त्रीको पदमा नियुक्त गरेको अनुमान गरिन्छ । सन् १९९८ को सेप्टेम्बरसम्म परराष्ट्रमन्त्रीको हैसियतले देशको प्रतिष्ठा बढाउने किसिमले काम गर्दा देशविदेशमा उनको ख्याति एकदमै बढेर गयो, यद्यपि रुसको आर्थिक स्थिति भने डाँवाडोल थियो । सन् १९९८ मा सेर्गेइ किरिलेन्कोको नेतृत्वमा रुसको सरकारले डेफोल्ट अर्थात् राज्यकै टाट पल्टेको अवस्थाको घोषणा गरी राजीनामा दिएपछि राष्ट्रपतिले भिक्टर चेर्नोमिर्दिनलाई प्रधानमन्त्रीको पदभार सुम्पन खोजेका थिए, तर देशको संसद राजकीय दूमाले दोस्रोपटक पनि यो उम्मेदवारी अस्वीकार गरिदिंदा त्यतिखेर राजकीय दूमाको सदस्य रहेका प्रजातन्त्रवादी ‘याब्लोको’ पार्टीका नेता ग्रिगोरी याब्लिन्स्कीले प्रधानमन्त्री पदका लागि सबैको समर्थन प्राप्त गर्न सक्षम एभ्गेनी प्रिमाकोभको नाम प्रस्तावित गरेका थिए (नेताहरुको नामको आद्याक्षरबाटे पार्टीको नाउँ ‘याब्लोको राखिएको हो । यसको अर्थ ‘स्याउ’ भन्ने हुन्छ र यस पार्टीको लोगोमा स्याउ नै अंकित छ) ।
तथकालीन राष्ट्रपति बोरिस एल्चिनले एभ्गेनी प्रिमाकोभलाई प्रधानमन्त्रीको पद दिनका लागि निकै जोडदार अनुरोध गर्नुपरेको थियो भनिन्छ । जे होस्, अन्ततोगत्वा राष्ट्रपतिको प्रस्ताव स्वीकार गरेर राजकीय दूमाले एभ्गेनी प्रिमाकोभलाई रुसको प्रधानमन्त्रीको पदभार सुम्पिदिएको थियो ।
सन् १९९८ को सेप्टेम्बरदेखि सन् १९९९ को मेइसम्म केवल ८ महिना मात्र एभ्गेनी प्रिमाकोभले रुसको प्रधानमन्त्री भएर काम गर्ने सम्भावना पाए । यस छोटो अवधिमा नै उनले डुब्नै आँटेको रुसको अर्थतन्त्रको जहाजलाई सकुशल सञ्चालन गरेका थिए । उनले त्यस्तो जटिल अवस्थामा पनि देशको अर्थतन्त्रलाई मात्र स्वावलम्बी तुल्याएका थिएनन्, बरु राजनीतिलाई पनि परनिर्भरताबाट मुक्त गरिदिएका थिए । यस परिप्रेक्ष्यमा प्रधानमन्त्रीको हैसियतले एभ्गेनी प्रिमाकोभले संयुक्त राज्य अमेरिकाको राजकीय भ्रमणका लागि २४ मार्च १९९९ मा प्रस्थान गरिसकेपछि युगोस्लाभियामा नाटोको तर्फबाट हवाई बमबारीको समाचार पाई त्यसको विरोधमा एटलान्टिक महासागरमाथिबाट आफ्नो विमानलाई फनक्क फर्काएर रुसमा उतारेको अविस्मरणीय परिघटनाको सम्झना गर्न सकिन्छ ।
सन् २००० मा राष्ट्रपति पदका लागि निर्वाचनमा भाग लिने घोषणा गरेका एभ्गेनी प्रिमाकोभले चुनाव जित्ने सुनिश्चित भएकाले त्यतिखेर सत्तामा हालीमुहाली राख्नेहरुबाट विरोधमा प्रचार तीव्र तुल्याइएको देखेर १ महिनापछि नै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरे । सन् २००१ को डिसम्बरमा उनलाई रुसको व्यापार तथा उद्योग संघको अध्यक्षपदमा निर्वाचित गरियो र उनले यो पदभार पनि सन् २०११ को फेब्रुअरीसम्म नै सफलतापूर्वक सम्हालेका थिए ।
अर्थशास्त्रका महाविद्यावारिधि, सन् १९७४ देखि सोभियत संघको विज्ञान प्रज्ञाप्रतिष्ठानका वरिष्ठ कार्यकर्ता र सन् १९९१ देखि प्राज्ञको उपाधिधारी एभ्गेनी प्रिमाकोभ अन्तरराष्ट्रिय सम्बन्धको क्षेत्रका एक घागडान विद्वान् र विश्वविख्यात प्राच्यविद थिए र उनले कैयौं मानपदवि तथा पदकहरु प्राप्त गरेको भए तापनि उनी आफूलाई प्राज्ञ भन्नमा गौरव अनुभव गर्नेगर्दथे । उनले कैयौं वैज्ञानिक कृतिहरुको सिर्जना गरिसकेका छन् र जीवनको अन्तिम घडीसम्म नै विश्वव्यापी समस्याहरुप्रति आफ्नो चिन्तनलाई कागजमा उतारेर भावी पुस्ताका लागि उत्तरदेनको रुपमा प्रदान गरेका छन् ।
उनी कविहृदयका व्यक्तित्व थिए भन्ने कुरा यस पंक्तिकारले उनको निधनको दिन मात्र थाहा पाएको हो । उनले सन् १९५० को दशकतिरै लेखेको एउटा कवितामा उनको जीवनको लक्ष्य प्रतिबिम्बित भएको छ भन्ने प्रतीत हुन्छ । त्यो कविता २७ जून २०१५ को अखबार ‘मास्कोभ्स्की कम्सोमोलेत्स’ (नं. १३२) को पहिला पृष्ठमै छापिएको देख्नासाथै मैले तत्कालै नेपालीमा ‘अठोट’ भन्ने शीर्षक दिएर श्लोकानुवाद गरेको थिएँ । यही कविता उनको अन्तेष्टिका दिन कैयौंपल्ट टेलिभिजनमा पनि गुञ्जेको थियो । यहाँनेर नेपाली पाठकवृन्दसमक्ष एभ्गेनी प्रिमाकोभरचित त्यो कविता प्रस्तुत गर्न चाहन्छु :
गरें अठोट मैले यो : हुन्छु कर्मठ नित्य म ।
सास फेर्दै रहेसम्म सदा अडीग बन्छु म ।।
चाहे बाटो बनोस् भार थाम्न असह्य दुर्गम,
विचलित हुने छैन रोजेको पथबाट म ।।
गरें अठोट नै मैले : मलाई चाहिंदैन क्यै ।
न पुरस्कार, न ख्याति वा न उच्च पदभार क्यै ।।
नजिकै सास फेरेको होस् अनूभुति मित्रले ।
नहेरोस् कहिल्यै कोही कुदृष्टि र कटाक्षले ।।
सके पाप गरें हुँला, किन्तु विश्वासघातक,
बन्ने म कहिल्यै छैन कसैप्रति अचानक ।
घोडा दौडाइयो धेरै, तर लगाम लाइनँ,
किन्तु समर्थ छुँ वेग रोकेर तह लाउन ।।
दौडिन्छौ वेगले हामी कोर्रा समयको परी,
खान्छौं ठक्कर, त्यो हैन किन्तु जीवनको कडी ।
परेन जसको गोडा रिकाबमा यहाँ त्यही
सिकाउँछ सबैलाई बाँच्ने जीवनपद्धति !!
अनु. कृष्णप्रकाश श्रेष्ठ
(२७.०६.२०१५, मास्को, रुस महासंघ) ।
उपरोक्त कविता ‘दोबाटोमा भेट’ भन्ने शीर्षकमा हालै प्रकशित एभ्गेनी प्रिमाकोभको संस्मरणात्मक पुस्तकमा पनि समाविष्ट छ रे । रुसका महान् नागरिकले उक्त कविताको शब्द र भावको अनुरुप नै आफ्नो कर्मठ जीवनपथ सदैव अडीग रहेर सफलताका साथ पार गरेका छन् भन्न सकिन्छ । उनको अन्तिम पुस्तकको शीर्षकले पनि उनकै जीवनको द्योतन गरिरहेको छ । वास्तवमा नै उनको जीवनपथ सोभियत समयावधि र नयाँ रुसको समयावधि गरी दुई बाटोको संगमस्थलकै द्योतक बनेको स्पष्ट नै छ ।
प्रतिक्रिया