बुङ्मतीमा पानीको चर्को अभाव

इनेप्लिज २०७२ असार १५ गते ११:१२ मा प्रकाशित

ललितपुर, १५ असार । भूकम्पका कारण पिउने पानीको अभाव भएर बुङ्मतीका स्थानीय बासिन्दालाई जीवनयापनमा कठिनाइ भएको छ ।

भूकम्प आएको दुई महिना बितिसक्दासमेत बुङ्मतीमा पानीको अभाव हटेको छैन ।

भूकम्प आउनु अघि पनि पानीको समस्या नभएको भने होइन तर भूकम्पका कारण नियमित आउने गरेको पानीको पाइप भत्किएर र नजिकै रहेका पानीका मूल सुकेर समस्या उत्पन्न भएको स्थानीयवासी मीरा थापा शाहले जानकारी दिनुभयो ।

शाहका अनुसार पानीका कारण यस वर्ष बुङ्मतीमा कृषि उत्पादनमा पनि कमी आउने निश्चित छ । यहाँका करिब १५० घरिवारले पिउने पानीको चर्को अभाव झेल्दै आएका छन् ।

स्थानीय बासिन्दाका अनुसार मनसुन सुरु भइसकेको भए पनि अहिलेसम्म पनि त्यस स्थानका सुकेका मुहानमा पानी आउन सुरु भएको छैन ।

त्यहाँका स्थानीय बासिन्दा अहिले ट्याङ्करको पानी किनेर खान बाध्य छन् । पिउनका लागि किनेको पानी प्रयोग गरे पनि गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि निकै ठूलो समस्या परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया