हराउँदैछ भेडापालन व्यवसाय

इनेप्लिज २०७२ असार १४ गते ९:३३ मा प्रकाशित

825रामपुर (पाल्प), १४ असार । कुनै समय कसेनी रुप्से गाविसका कृषकको आम्दानीको बलियो स्रोत बनेको भेडापालन व्यवसाय यतिखेर क्रमिक रुपमा हराउँदै गएको छ ।

कसेनी गाविस अगनिकीका शान्ति कुमालले पहिला पहिला ८० देखि १०० भेडा पाल्नु हुन्थ्यो । यतिखेर आफ्नो गोठमा २६ वटा मात्र भेडा भएको उहाँले बताउनुभयो । “छोरीहरु आ–आफ्नो घर गए, छोरा बाहिर छन् कसले पाल्ने हो र” उहाँले भन्नुभयो ।

एकदशक अगाडिसम्म हरेक वर्षको हिउँदमा भेडाको रौँ खरिद गर्न आउनेले मसिनो गरी काटेर लैजान्थे, त्यसबापत दुई चारसय रुपैयाँ हात पर्दथ्यो अब भेडा पाल्ने व्यक्ति पनि कम हुँदै गएकाले खरिद गर्न आउने व्यापारी पनि आउन छोडे । कृषकको पशुपालन व्यवसायप्रति आर्कषण कम, पटक÷पटक विभिन्न रोग लाग्नु, कृषक आधुनिक स्वरुप र शैलीतर्फ जान नखोजेकै कारण आम्दानीको बलियो स्रोत र माध्यम बनेको भेडापालन व्यवसाय क्रमिक रुपमा हराउँदै गएको हो ।

भाले भेडा (थुमे) को अत्यधिक मूल्य पर्ने भएकाले भाले जातीलाई खसी नपारी राख्ने प्रचलन रहेको छ । पाँच÷सात महिनाको थुमेलाई रु आठ हजारदेखि रु १० हजारसम्म पर्ने भएकाले कृषकको आकर्षण घट्न नसकेको स्थानीय वुद्धिबहादुर कुमाल बताउनुहुन्छ । कसेनी गाविसमा मात्र २० जनाभन्दा बढी कृषकले पुरानै शैलीमा भेडा पाल्दै आएका छन् । कृषकले स–साना रोग लाग्दा ख्याल नगर्ने दाना तथा घाँसको व्यवस्थापन गर्न नसक्दा क्रमिक रुपमा लोप हँुदै गएको कुमालले बताउनुहुन्छ ।

“एक वर्षमा पाँच÷सातवटा थुमे बिक्री ग¥यो त्यसैबाट सबै घरखर्च टर्दथ्यो, राम्रो पैसा हात पर्दथ्यो,े यतिखेर गोठै शून्य भएको अवस्था छ” उहाँले भन्नुभयो । भेडा चरन माडीफाँटमा गर्दा खेत समेत मलिलो हुन्थ्यो । फाँटमा दैनिक एक हजारभन्दा बढी भेडा चर्ने गर्दथे । रोग लाग्ने, व्यवस्थापन राम्रो नगर्ने जसका कारणले पनि भेडा क्रमिक रुपमा हराउँदै गएको कृषक बताउँछन् । कुनै रोग तथा समस्या देखा पर्दा पशुसेवा कार्यलय, पशुसेवा केन्द्रका प्राविधिकसँग समन्वय नगरेकै कारण लोप हँुदै गएको हो ।

जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीका अनुसार कृषकले आफ्ना समस्या लिएर आएको खण्डमा समाधान तथा सहयोग गर्ने गरेको र कृषक त्यस सम्बन्धी सचेत हुन जरुरी छ । भेडापालन व्यवसाय अन्य भन्दा सजिलो र सहज भएका कारण यस व्यवसायमा पुनः कृषकलाई आकर्षित गर्न सकिएको खण्डमा कृषकको आम्दानीको स्रोत पनि बढ्ने र रोजगारीको अवसर सिर्जना हुने कृषक बताउछन् ।

प्रतिक्रिया