सरकारी अनुदानबाट मौरी व्यवसायमा युवाको उत्साह बढ्दै

इनेप्लिज २०७२ असार १४ गते ३:४१ मा प्रकाशित

honey-beeललितपुर, १४ असार । रोजगारका लागि विदेसिएका युवालाई स्वदेशमा नै रोजगारी दिने उद्देश्यअनुरुप सरकारले ल्याएको युवा लक्ष्यित कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।

कृषि क्षेत्रमा आधारित उक्त कार्यक्रमले युवा जमातलाई उत्साहित बनाएको देखिएको छ । चालु आर्थिक वर्षमा जिल्ला कृषि विकास कार्यालयले प्रदान गरिँदै आएको विभिन्न योजनामध्ये मौरीपालन व्यवसाय सकारात्मक रुपमा अगाडि बढेको देखिएको छ ।

युवालाई लक्ष्यित गरी यो वर्ष कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा गरी चारजनालाई प्रदान गरिएको मौरीपालन व्यवसायले प्रभाव बढाउँदै लगेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत हरिप्रसाद पण्डितले बताउनुभयो । एकजना युवालाई उक्त व्यवसाय सञ्लालनका लागि अनुदान रकम रु एक लाख ८० हजारका दरले उपलब्ध गराउँदै आएको छ ।

मौरीपालन व्यवसायमा लाग्ने व्यक्तिलाई कृषि विकास कार्यालयले २० वटासम्म मौरी घार उपलब्ध गरेको छ । प्रतिघारमा आठ वटा चक्का रहने गरेको छ । कृषकलाई उपलब्ध गराउँदै आएको मौरी घारमा दुई प्रकारका मौरी रहेका छन् । एपिस सेरेना र एपिस मेलिफेरा गरी दुई जातका मौरी वितरण गरिँदै आएको कार्यालयले जनाएको छ ।

ललितपुर उपमहानगरपालिका–२४ मा रहेको माउन्टेन बी कन्सर्नलाई कार्यालयले स्रोत केन्द्र बनाएको छ । उक्त केन्द्रबाट युवा लक्ष्यित कार्यक्रमअन्तर्गत दिइने अनुदान स्वरुपको मौरी घार कृषकलाई वितरण गर्दै आएको कार्यालयले जनाएको छ । विगत दुई दशकदेखि निरन्तर मौरी व्यवसायमा लाग्दै आएका चापागाउँ–४ का उज्जल श्रेष्ठले यस व्यवसायबाट सन्तुष्ट रहेको बताउनुभयो । न्यूनतम् वर्षमा दुईदेखि तीनपटकसम्म घारबाट मह निकाल्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

बजारमा समेत महको माग राम्रो भएको उहाँको अनुभव छ । प्रतिमाना रु पाँचदेखि छसयका दरले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । निरन्तर रुपमा मौरी व्यवसायमा लागेका उहाँले आफ्नो परिवारको गुजारा चलाउँदै आउनु भएको छ । उत्पादन भएका मह बिक्रीका लागि बजारको राम्रो व्यवस्थापन हुन सकेमा यस व्यवसायप्रति युवाको आकर्षण झन् बढ्ने उहाँको विश्वास रहेको छ ।

सरकारी अनुदानमा २० वटा घार प्राप्त गरेकामा उज्जल दङ्ग छन् । हाल उहाँको फार्म हाउसमा ५० वटा घार रहेका छन् ।

पहिला–पहिला घरको गाह्रोमा मौरी पाल्दै आएको सुनाउँदै पछिल्लो समय कृषिमा आएको आधुनिकीकरणले यस व्यवसायमा थप ऊर्जा मिलेको उहाँले बताउनुभयो । स्वच्छ वातावरणमा गरिने यस व्यवसायमा लाग्ने कृषकले अन्य काम गर्नसमेत समय मिल्ने उहाँले तर्क गर्नुभयो ।

यस्तै लेले–५ का प्रदीप सिजापतिले पनि सरकारी अनुदानमा आएको रकमको उपयोग गर्दै मौरी व्यवसाय शुरु गर्नु भएको छ । यस व्यवसायवाट आर्थिक दृष्टिकोणमा समेत सबल भएको उहाँले बताउनुभयो । कृषि विकास कार्यालयबाट अनुदानमा २० वटा मौरी घार आएको उहाँले उल्लेख गर्नु भयो । कार्यालयबाट युवा लक्ष्यित कार्यक्रमअनुरुप रु एक लाख ८० हजारबराबरको मौरी घार प्राप्त भएको बताइएको छ ।

उहाँले मौरी व्यवसायमा युवालाई आकर्षित गर्न सरकारले ल्याएको विशेष कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । खुल्ला ठाउँ एवम् सफा वातावरणमा गरिने मौरी व्यवसायबाट राम्रै आम्दानी हुने गरेको छ ।

माउन्टेन बी कन्सर्नका व्यवस्थापक रामु चौधरीले एपिस सेरेना र एपिस मेलिफेरा नामका मौरी कृषकलाई वितरण गरिँदै आएको बताउनुभयो । उहाँले यसरी वितरण गरिने प्रतिमौरी घारको रु आठदेखि दस हजारसम्म लिने गरिएको छ भन्नु भयो । उहाँले पछिल्लो समयमा युवावर्ग यस व्यवसायप्रति आकर्षण बढ्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया