करोडौँको लगानीमा गार्ई फार्म

इनेप्लिज २०७२ असार १३ गते १२:३४ मा प्रकाशित

timthumb.phpचितवन, १३ असार । पूर्वी चितवनको कुमरोजमा करोडौँको लागतमा अत्याधुनिक गाई फार्म सञ्चालन गरिएको छ ।

यस क्षेत्रका सरोकारवालाको भनाइमा यो फार्म देशकै सबैभन्दा ठूलो र व्यवस्थित फार्म हो । २० बिगाहा आफ्नै र २६ बिगाहा भाडामा गरी ४६ बिगाहामा फैलिएको यो फार्मको छ बिगाहा क्षेत्रमा १६ वटा अत्याधुनिक गोठ रहेका छन् । जग्गाबाहेक फार्ममा रु पाँच करोड लगानी गरिएको छ ।

खैरहनी नगरपालिका– ११ मा रहेको लालीगुराँस समूहले सञ्चालन गरेको श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टरमा हाल तीन सय दुई वटा गाई रहेका छन् । सुपरीवेक्षक सिपी पौडेलका अनुसार एक सय ७१ वटा माउ, ७२ वटा कोरली, ४१ वटा साना बाच्ची, १७ वटा बाच्छा र एउटा साँढे छ । जसमध्ये एक सय २५ वटा दुहुना गाई रहेका छन् । ती गाईले दैनिक एक हजार दुई सयदेखि एक हजार दुई सय ५० लिटरसम्म दूध दिने गरेको सुपरभाइजर पौडेलले बताउनुभयो । ठूलो क्षेत्र र प्रवेशद्वारमै अत्याधुनिक कार्यालय भवन, कर्मचारीका आवास गृह र सो भित्र ठूला र अत्याधुनिक गाई गोठ रहेका छन् । दूध दुहुनका लागि एउटा छुट्टै पार्लर रहेको छ । जहाँ एक पटकमा २८ वटा गाईलाई उपकरणको सहायताबाट दूध दुहुने गरिन्छ ।

गोठमा रहेका गाई दुहुने बेलामा फुकाएपछि केही पर रहेको पार्लरमा आफैं गएर उभिने गर्दछन् । उपकरण जडान भएपछि कल्चौँडोमा भएको सबै दूध दुहिसकेपछि आफैँ गोठमा जाने पौडेलले बताउनुभयो । करिब सात मिनेटमा सबै दूध दुहिसक्ने उहाँले बताउनुभयो । एक सय २० फिट लम्बाइ र ४२ फिट चौडाइ रहेका चारवटा गोठ माउका लागि छुट्याइएको छ । त्यसैगरी कोरलीका लागि चारवटा, साना बाच्छीका लागि चारवटा, ब्याउनका लागि एउटा र बिरामी गाईका लागि एउटा गोठ रहेका छन् ।

फार्म सञ्चालनका लागि एकजना पशु चिकित्सक, दुईजना भेटेनरी प्राविधिकसहित ३९ जना कर्मचारी रहेका छन् । विसं २०७० साल मङ्सिरबाट गाई पाल्न सुरु गरिएको सो फार्मले गत तीन महिनायता खर्च धानेको कार्यरत कर्मचारी बताउँछन् । सुरुमा जिल्लाका विभिन्न क्षेत्रबाट गाई सङ्कलन गरिएकामा पछि मकवानपुर र भारतबाट समेत गाई झिकाइएको थियो । होलस्टेन क्रस र जर्सी क्रस जातका गाई फार्ममा रहेका छन् । रु ७० हजारदेखि रु एक लाख ३० हजारसम्ममा खरिद गरिएका गाईले दैनिक २८ लिटरसम्म दूध दिने गर्दछन् । २० लिटरभन्दा बढी दूध दिने १६ वटा गाई रहेको सुपरीवेक्षक पौडेलले बताउनुभयो ।

गाईलाई खुवाउनका लागि ४० बिगाहा क्षेत्रफलमा घाँस लगाइएको छ । जसमा नेपियर, टिवसेन्टी, बाजरा जातका घासका साथै बोडी र भटमाससमेत लगाइएको छ । सकेसम्म धेरै घाँस खुवाइने गरेको कार्यरत कर्मचारीहरु बताउँछन् । मौसमअनुसार फरक फरक घाँस खुवाइँदै आएको छ । तयारी दाना खुवाइँदै आएकामा अब आफैँ दाना तयार गर्ने तयारी हुँदैछ भने चोकरसमेत गाईलाई खुवाइँदै आएको छ ।

सिसी क्यामराबाट गाईको निगरानी गरिन्छ भने गोठगोठमा ट्र्याक्टरहरुले घाँस पुर्‍याउने व्यवस्था गरिएको छ । दाना र पानी उपकरणबाट पु¥याइन्छ । फार्ममा तत्काल पाँच सय र दीर्घकालीन रुपमा एक हजार गाई पुर्‍याउनका लागि निर्माणका कार्यसमेत भइरहेका छन् ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामकुमार कार्कीले सो फार्म नेपालकै सबैभन्दा ठूलो व्यवस्थित गाई फार्म भएको बताउनुभयो । सबै किसिमले व्यवस्थित गरिएकाले सो फार्म व्यावसायिक रुपमा अगाडि बढ्नेमा विश्वस्त रहेको कार्कीको भनाइ छ । गाई फार्म सञ्चालन गरेको लालीगुराँस समूहको काठमाडौँमा एउटा सहकारी, एउटा कलेज, सिन्धुपाल्चोकमा भैरव कुञ्ज नामक जलविद्युत् आयोजना, ललितपुरको सातदोबाटोमा लालीगुराँस हस्पिटल र उपत्यकामा इन्भेस्टमेन्ट कम्पनीसमेत रहेको छ । सहकारीमार्फत प्रवद्र्धन गरिएको यो समूहमा १४ हजार सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया