बेल लोप हुने सङ्घारमा

इनेप्लिज २०७२ असार १३ गते ४:५४ मा प्रकाशित

belकञ्चनपुर, १३ असार । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेल लोप हुने सङ्घारमा पुगेको छ ।

वन अतिक्रमणको चपेटामा पर्ने क्रमसँगै बेलका रूखसमेत सखाप हुन थालेका छन् । बेलको महत्वका बारेमा धेरैलाई जानकारी नहुँदा बेलका रूख दाउरा र सोतरका रुपमा प्रयोग हुन थालेको झलारी पिपलाडी नगरपालिका–६ कसरौलका सिद्धराज भट्टले बताउनुभयो । “चुरे क्षेत्र नजिकका वनमा दश वर्ष पहिला प्रशस्त मात्रामा बेलाका रूख पाइने गरेका थिए”, उहाँले भन्नुभयो, “बेलका रूख दाउराका रुपमा प्रयोग हुन थालेपछि अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ ।”

स्थानीयवासी शेरबहादुर साउदका अनुसार पहिला घर नजिकै बेलका रूख पाइने गरेकामा हाल बेलको पात धार्मिक अनुष्ठानमा प्रयोग गर्नका लागि वनमा भाँैतारिनुपर्ने अवस्था छ । बेलको फलको रस बनाई पिएमा गर्मीमा लु नलाग्ने, शीतलता प्रदान गर्ने, पाचन शक्ति बढाउने र शरीरलाई शक्ति प्रदान गर्ने बताइन्छ । बेलको महत्व नबुझ्नु र बेलका फलको व्यावसायिक प्रयोग नहुनु जस्ता कारणले बेलका रूख लोप हुने सङ्घारमा पुगेको श्रीकृष्ण सामुदायिक वनका पूर्वअध्यक्ष दिलबहादुर बुढाले बताउनुभयो ।

केही सामुदायिक वनले बेलका बोटको नर्सरी तयार गरी वन क्षेत्रमा रोपे पनि बेलका फलको व्यावसायीकरण हुन नसक्दा बाँदरको आहाराका रुपमा प्रयोग हुँदै आएको उहाँले उल्लेख गर्नुभयो । “बेललाई लोप हुनबाट बचाउनका लागि जबसम्म सर्वसाधारणमा वनमा रहेका लोपोन्मुख रूख हाम्रो सम्पत्ति हो यसको संरक्षण हामी आफैँले गर्नुपर्छ भन्ने भावना विकसित हँुदैन तबसम्म बचाउन सकिँदैन”, वन संरक्षणका क्षेत्रमा क्रियाशील मानसिंह भण्डारीले भन्नुभयो ।

प्रतिक्रिया