खाली भवन लागुऔषधको अखडा बन्दै

इनेप्लिज २०७२ असार १२ गते २:१८ मा प्रकाशित

120716123644-pills-drugs-in-man-s-hands-generic-story-topदमक, १२ असार । झापाको दमक–१२ स्थित पशुहाट क्षेत्रका खाली भवन केही समययता लागुऔषधका प्रयोगकर्ताको अखडा बन्दै आएको छ ।

लागुऔषध प्रयोगकर्ताले सुरक्षित अखडाका रुपमा यहाँका उपयोगविहीन भवनहरू प्रयोग गर्दै आएको पाइएको छ ।

पशुहाटसँग जोडिएका झापा हस्तकला उद्योग सङ्घ र नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको पछिल्ला समय भवन उपयोगमा नआउँदा लागुऔषध प्रयोगकर्ताको अखडा बन्ने गरेका हुन् ।

विगत सात वर्षयता ती भवन संरक्षणविहीन बनेका र दुव्र्यसनमा फसेकाले यी भवन प्रयोग गर्ने गरिएको स्थानीयवासी बताउँछन् ।

विभिन्न उद्देश्य राखेर निर्माण भएका दुवै भवनमा सम्बन्धित पक्ष बेखर जस्तै बनेपछि थप समस्या बनेको स्थानीय भीम कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “भवनहरूको संरक्षण नहुँदा झयालढोकासमेत जीर्ण बन्दै गएको र रातको समयमा लागुऔषध प्रयोगकर्ताको बिगबिगी बढ्न थालेको छ ।”

स्थानीय युवराज लिम्बुले दुवै भवनको उचित संरक्षण नगरिँदा नजिकै रहेको किराँत भवनलाई समेत असर परेको गुनासो गर्नुभयो । दुवै भवनहरू उपयोगविहीन भएपछि सो भवन आसपासमा फोहोरमैला गर्नेदेखि लागुऔषध प्रयोगकर्ताले अखडा बनाउने गरेको उहाँले बताउनुभयो ।

विभिन्न उद्देश्य राखेर निर्माण गरिएका भवनको सही उपयोग र संरक्षण हुन नसक्दा उत्पन्न समस्याप्रति स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

प्रतिक्रिया