नेपाललाई जस्तोसुकै सहयोग उपलब्ध गरान तयार छौं – चिनिया विदेशमन्त्री वाङ

इनेप्लिज २०७२ असार १० गते ११:२५ मा प्रकाशित

काठमाडौँ, १० असार । पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका चिनिया विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई आफूहरु जस्तोसुकै सहयोग उपलब्ध गराउन तयार रहेको बताउनुभएको छ ।

चिनिया सरकारले उपलब्ध गराएको पालमुनि सैनिक मञ्च टुँडखेलमा आश्रय लिइरहेका भूकम्पपीडितसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सहयोग द्विपक्षीय हित र छलफलका आधारमा तय गरिने जानकारी दिनुभयो ।

विदेशमन्त्री वाङले भन्नुभयो – “हामी नेपाललाई पूर्ण सहयोग उपलब्ध गराउँछाँै, आपसी छलफल र द्विपक्षीय हितका आधारमा नै सहयोगको क्षेत्र तथा प्राथमिकता निर्धारण हुनेछ ।”

चीन सरकारले पहिलो चरणमा उपलब्ध गराएको रु एक अर्ब सहयोग भूकम्पपीडित जनताको बासस्थान निर्माणका लागि खर्च गरिनेछ । नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनपछि चिनिया उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल नेपाल आउने र थप सहयोग उपलब्ध गराउने विषयमा कुराकानी गर्नेसमेत उहाँले जानकारी दिनुभयो ।

चीन सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि भौतिक पूर्वाधार, विद्यालय, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको नवनिर्माण, मानवीय तथा अन्य क्षेत्रमा सहयोगको क्षेत्र निर्धारण गरेको विदेशमन्त्री वाङको भनाइ थियो ।

विदेशमन्त्री वाङले भन्नुभयो – “हामी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, सहयोगका क्षेत्र र प्राथमिकता आपसी सल्लाहका आधारमा तय गर्छौं, नेपाल र चीनबीचमा दाजुभाइको जस्तो मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ ।”

विपद् व्यवस्थापनको अन्तर्राष्ट्रिय मूल्य र मान्यताको परिधिभित्र रहेर चीन सरकारले खोज, उद्धार, राहत र पुनःनिर्माणमा नेपाललाई सहयोग गरेको उल्लेख गर्दै उहाँले विपद्मा पर्दासमेत नेपालीको हँसिलो मुहार र आत्मविश्वासले आफूहरुलाई थप ऊर्जा मिलेको धारणा व्यक्त गर्नुभयो ।

विदेशमन्त्री वाङले भन्नुभयो – ‘‘विपद्पछि पनि नेपालीको आत्मविश्वास उत्तिकै देखिएको छ । उनीहरु आशावादी छन् । अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य सहयोग हुनेछ । त्यसले पुनःनिर्माणको थप आधार तयार पार्छ ।’’

विदेशमन्त्री वाङले सैनिक मञ्च टुँडिखेलमा अस्थायी बसोबास गर्दैआएका भूकम्पपीडितसँग बसोबासको अवस्थाबारे पालभित्रै गएर कुराकानी गर्नुभएको थियो । सो अवसरमा उहाँले पीडित परिवारलाई हिमाल शृङ्खला वारिपारि रहेका नेपाल र चीनबीच अन्यन्तै मित्रवत् र दाजुभाइको जस्तो सम्बन्ध रहेको जनाउँदै पीडित परिवारका लागि बासस्थान र पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

सैनिक मञ्चमा आश्रय लिइरहेकी धादिङ मार्पाक स्थायी घर भई नेपाल कमर्स क्याम्पस मिनभवनमा बिबिएस दोस्रो सेमेष्टरमा अध्ययनरत श्रृष्टि पन्त र काभ्रेकी एक गर्भवती महिला पवित्रा लामासँग उहाँले भलाकुसारी गर्नुभएको थियो ।
विदेशमन्त्री वाङसँगको छलफलपछि छात्रा पन्तले भूकम्पपीडित विद्यार्थीलाई समेत समेट्ने गरी चीनले प्रदान गर्दै शैक्षिक छात्रवृतिको कोटा बढाउने प्रतिवद्धता चिनिया विदेशमन्त्रीले व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।

टँुडिखेलमा हाल ५१ जिल्लाका ४५९ घरपरिवारका एक हजार ४८८ जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये डेरावालको सङ्ख्या एक हजार ३९३ रहेको छ । भूकम्प गएको केही दिनसम्म टुँडिखेलमा चीन सरकारले उपलब्ध गराएको १६५ थान पालभित्र १३ हजार ३५० जनासम्मले आश्रय लिएका थिए । उनीहरुलाई एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले एक हप्ता अगाडिसम्म खानपिनको व्यवस्था गरेको थियो ।

सो स्थानमा भूकम्पले पूर्ण रुपमा घर भत्काएर आश्रय लिएकाको सङ्ख्या ३५० रहेपनि अन्य भने सुकुम्बासी र काठमाडौँको सहरी क्षेत्रमा भाडामा बस्दै आएका नागरिक छन् ।

प्रतिक्रिया