ठेकेदारको बेवास्ताले तटबन्धको काम भएन

इनेप्लिज २०७२ असार १० गते ११:०६ मा प्रकाशित

भीमदत्तनगर, १० असार । तटबन्ध निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको भए पनि कामको जिम्मा पाएको ठेकेदार कम्पनीले बेवास्ता गर्दा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– ७ सिमलफाँटामा तटबन्ध निर्माणको काम पुरा हुन सकेको छैन ।

तटबन्ध अधुरै रहेपछि स्थानीयवासी यसवर्ष पनि स्याली नदीमा आउने बाढीको चपेटमा पर्ने भएका छन् । जनताको तटबन्ध फिल्ड कार्यालय नम्बर– ७ भीमदत्तनगरले स्याली नदी किनारमा ४०० मिटर तटबन्ध निर्माण गर्न ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो । तर तटबन्ध निर्माणको जिम्मा पाएको ‘मालिका निर्माण सेवा’ले ढुङ्गा आपूर्ती गर्न नसक्दा तटबन्ध निर्माण समयमा गर्न नसकिएको जनाएको छ । तटबन्धको काम नहुने भएपछि स्थानीयवासीले जनताको तटबन्ध कार्यक्रमको सहयोगमा नै अस्थाई तटबन्ध गर्न थालेका छन् ।

गत फागुनमा जनताको तटबन्ध कार्यलयसँग मालिका निर्माण सेवाले रु एक करोड ४५ लाखमा तटबन्ध निर्माण गर्ने ठेक्का सम्झैता गरेको थियो । तर ठेक्का पाएको निर्माण सेवाले बीचमै काम छाडेको छ । काम अधुरो छाडेपछि यसवर्ष पनि नदी कटानले आफूहरु पीडित बन्ने सिमलफाँटाका स्थानीय देवदत्त जोशीले पीडा पोख्नुभयो ।

“ठूलो रकममा यसवर्ष राम्रो काम हुने भयो भनेर सबै पीडित खुसी थियाँै । तर ठेकेदारले झन दुुःखित बनायो” उहाँले भन्नुभयो । स्थानीयवासीले निर्माण कम्पनीलाई खोलाबाट ढुङ्गा उपलब्ध गराए पनि काम नगरेको आरोपसमेत लगाएका छन् । स्थानयीयवासीले ठेक्का सम्झैता अनुसारको तटबन्ध समयमै पूरा गर्न माग गर्दै आएका छन् ।

ठेकेदारले काम नगरेपछि स्थानीयले बोरामा माटो भरेर अस्थाई तटबन्ध निर्माणको काम अघि बढाएका छन् । वर्षातको समय सुरु भएकाले अस्थाई तटबन्ध निर्माण गर्न पर्याप्त समय नभएको पीडितहरुको भनाइ छ ।

जनताको तटबन्ध कार्यालयले ठेकेदारले काम नगरे पनि कामको मूल्याङ्कन गर्दै निर्माण सेवाको रकम भुक्तानी गर्ने तयारी गरिरहेको छ । चार हजार १४० घनमिटर ढुङ्गा तटबन्धका लागि आवश्यक रहेको भए पनि करिब एक हजार घनमिटर ढुङ्गा मात्रै जम्मा गर्न सकेको जनताको तटबन्ध कार्यलय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया