भूकम्पले क्षतविक्षत बनाएका विद्यालयमा नै पठन–पाठन गराउन बाध्य

इनेप्लिज २०७२ असार ८ गते ४:४४ मा प्रकाशित

मेलम्ची, ८ असार । सिन्धुपाल्चोक जिल्लाको स्याउले गाविसस्थित सेतीदेवी उच्चमाध्यमिक विद्यालय भूकम्पका कारण चिराचिरा परेर पठन–पाठन गराउन नसकिने अवस्थामा रहेको भए पनि अन्यत्र व्यवस्था नहुँदा विद्यार्थीलाई हाल त्यहीँ पठन–पाठन गराउन बाध्य भएको छ ।

जिल्ला शिक्षा कार्यालयबाट रु एक लाख ५० हजार प्राप्त भएपनि त्यति रकमले विद्यालयको भग्नावशेष हटाइ नयाँ टहरो निर्माण गर्न अपर्याप्त भएको शिक्षक भिमसेन खड्काले जानकारी गराउनुभयो ।

विसं २०१० मा स्थापित उक्त विद्यालय भूकम्पले क्षतविक्षत बनाउँदा पनि सहयोगका लागि हालसम्म कुनै सङ्घसंस्था, राजनीतिक दल कसैले पनि चासो नदिएको खड्काले बताउनुभयो ।
विद्यालय धराप भए पनि त्यहीँ पढ्नुपर्दा क्षणक्षणमै भूकम्पका त्रास सम्झँदा राम्रोसँग पढ्न नसकिएको विद्यार्थीले गुनासो गरेका छन् ।

त्यसैगरी सो विद्यालयका पूर्व विद्यार्थी अभिभावक मिलेर विद्यालयको भग्नावशेष हटाउन सुरु गरिएको र शिक्षक अभिभावक भेला भई विद्यार्थीलाई शान्त वातावरणमा कसरी पठन–पाठन सुरु गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल गरी समस्या समाधान गर्नेतर्फ लागिरहेको खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया