अतिक्रमण हटाएर सामुदायिक वन स्थापना

इनेप्लिज २०७२ असार ८ गते ४:३६ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), ८ असार । म्याग्दीको अर्मनमा सार्वजनिक पाखोमा भएको अतिक्रमण हटाएर सामुदायिक वन स्थापना गरिएको छ ।

अर्मनको ६ र ७ नम्बर वडामा स्थानीयले खरबारीका रुपमा प्रयोग गर्दै आएको सार्वजनिक पाखोलाई फिर्ता गराई नयाँ सामुदायिक वन स्थापना गरिएको हो ।

आमभेला गराई अतिक्रमणको असर र कानुनी व्यवस्थाको विषयमा सचेत बनाएपछि स्थानीयले राजीखुसीले सार्वजनिक जग्गा उपयोग गर्न छाडेको इलाका वन बाबियाचौरका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो ।

अतिक्रमण हटाउन समुदाय र सबै पक्षले सहयोग गरेकाले उक्त सामुदायिक वनको नाम पनि ‘सहयोगी सामुदायिक’ वन राखिएको उहाँले बताउनुभयो । उक्त सामुदायिक वन ३४.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

वन क्षेत्रमा घेराउ र साँधसिमाना कायम गर्नुका साथै वृक्षरोपण गरेर वन विस्तार गरिएको सहयोगी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रनबहादुर थापाले बताउनुभयो । गत वर्ष पनि अर्मनको सेराफाँटमा स्थानीयले गरेको अतिक्रमण हटाएर २.२ हेक्टर क्षेत्रफलको दोभिल्ना सामुदायिक वन स्थापना गरिएको थियो ।

इलाका वन कार्यालय बाबियाचौरले सञ्चालन गरेको ‘समुदायमा आधारित वन अतिक्रमण नियन्त्रण’ अभियानअन्तर्गत बाबियाचौर, अर्मन र कुहुँ गाविसको १६ वटा सामुदायिक वनमा भएको ३७४ हेक्टर अतिक्रमण हटाइएको छ ।

प्रतिक्रिया