युवा रोजगार नीतिमा जोड

इनेप्लिज २०७२ असार ६ गते ४:०८ मा प्रकाशित

काठमाडौँ, ६ असार । अर्थविद् प्रा डा भीमप्रसाद न्यौपानेले सीप सिक्ने, प्रविधि भित्र्याउने र आफ्नै देशमा केही न केही उन्नतिका काम गराउने उद्देश्यले वैदेशिक रोजगार नीति बनाउनुपर्ने बताउनुभएको छ ।

साहित्य सन्ध्याको ३५० औँ कार्यक्रमअन्तर्गत शनिबार आयोजित ‘युवा पलायन समस्या र सम्भावना’ विषयको परिचर्चा कार्यक्रममा उहाँले स्वरोजगार र महिला श्रम सुरक्षा कार्यक्रम ल्याउने, स्पष्ट नीति कार्यक्रम बनाएर नियन्त्रित ढङ्गले राज्य राज्यका बीचमा सम्झौता गरी प्रविधि र सीप विकास गरी स्वदेशमा भित्र्याउने समेत प्रयोजनका लागि युवा बाहिर पठाउने व्यवस्था गरिनु उचित हुने सुझाव दिनुभयो ।

सन्ध्याका अध्यक्ष राम विनयले आज हाम्रो देशले भोग्नुपरेको युवा पलायनको समस्यालाई व्यवस्थित गर्न सके देशको नवनिर्माणमा योगदान हुन सक्थ्यो भन्नुभयो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलले यतिखेर मुलुकलाई निर्माणका लागि युवा आवश्यक भए पनि सिङ्गा गाउँहरू युवाविहीन भइरहेको र यो समस्या भविष्यमा झन् विकराल हुने भएकाले युवा पलायन रोक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा रामबहादुर पहाडी, रामप्रसाद प्रदीप, पूर्ण विराम, नर्मदेश्वरी सत्याल, प्रेम ओली, प्रेमराज सिलवाल, अतीन्द्र दाहाल, मुकुन्दप्रसाद न्यौपाने, डम्बर पहाडी, रमेश पाल्पाली, स्मिता, गोपालकुमार मैनाली, नारायण निराशी, उमेश उपाध्याय, सरस्वती चिमौरिया, उर्मिला पन्त पाण्डेय, यदुनाथ वसन्तपुरे, इन्दु अंशु, रामकृष्ण दुवाल, सुदेश सत्याल, थरेन्द्र बराललगायतले आआफ्ना कविता, गीत, गजल, कथा प्रस्तुत गर्नुभयो ।
वाचित रचनामाथि टिप्पणी गर्दै जनसाहित्यिक मञ्च, नेपालका महासचिव एवम् समालोचक विनोद मञ्जनले विचार सम्प्रेषण गर्ने कार्यलाई स्रष्टाले जति सुन्दर पार्‍यो त्यति नै रचना सुुन्दर हुन्छ भन्नुभयो ।

प्रतिक्रिया