‘नमुना इलाम’ अवधारणापत्र

इनेप्लिज २०७२ असार ५ गते १०:०९ मा प्रकाशित

ilam_nepal_mapइलाम, ५ असार । जिल्लाको समग्र विकासलाई अघि बढाउने उद्देश्यले नेकपा (एमाले) इलामले ‘जिल्लाको विकास अवधारणापत्र’ सार्वजनिक गरेको छ ।

जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीमाझ एमाले इलामका सचिव महेश बस्नेतले विकासको अवधारणा सार्वजनिक गर्दै नागरिकको समृद्धिको नेतृत्व गर्दै इलामको विकासलाई अघि बढाउन अवधारणापत्र ल्याइएको बताउनुभयो ।

कृषि, पर्यटन, शिक्षा, सडक÷यातायात, विद्युत् तथा वैकल्पिक ऊर्जा, सञ्चार, उद्योग, व्यापार तथा विप्रेषण, वन तथा वातावरण, सहकारी तथा वित्तीय क्षेत्रलगायत २२ शीर्षक अवधारणा पत्रमा समेटिएको छ ।

कृषिमा रहेको अत्यधिक जनघनत्वको चापलाई व्यापार, व्यवसाय, उद्योग क्षेत्रमा स्थानान्तरण गर्ने नीति अवलम्बन गर्न एमालेले सुझाएको छ । कृषि क्षेत्रमा बढ्दै गइरहेको वितृष्णाप्रति अभिरुचि बढाउन र कृषिलाई सम्मानजनक पेसाका रुपमा लिन सरकारले अनुदानको व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ । कृषिमा प्राङ्गारिक उत्पादन, जिल्लामा उत्पादित दुग्धजन्य परिकारको गुणस्तर अभिवृद्धि गर्न, कृषिमा उन्नत बीउबिजन, सहुलियत दरमा ऋण र पशुपालनमा लागेकालाई प्रोत्साहन गर्नुपर्नेमा अवधारणा पत्रमा जोड दिइएको छ ।

इलाम पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको जिल्ला भएकाले पर्यटन क्षेत्रलाई अवधारणापत्रमा महत्वपूर्ण स्थान दिइएको छ । नेपालकै सबैभन्दा पुरानो चिया बगानलाई संरक्षण तथा संवद्र्धन गर्न तथा यसभित्र चौतारा, पर्यटकीय मार्ग निर्माण गर्नुपर्ने औँल्याइएको छ ।

नेपालमै पहिलो पटक चियारोपण गर्ने तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पूर्णकदको प्रतिमासहित उद्यान निर्माण गर्नुपर्ने, वर्षाैंदेखि स्थापना हुन नसकेको नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना, धार्मिक मठमन्दिर, गुम्बा निर्माण तथा विशेष व्यवस्था तथा लारुम्बा, गजुरमुखी, माईपोखरी र पाथीभरालाई धार्मिक पर्यटकीय क्षेत्रमा व्यवस्थित बजार बनाउनुपर्नेमा जोड दिएको छ ।

जिल्लामा ४३ गाविस र तीन नगरपालिकामा बाह्रैमास सडक पुग्ने गरी सडकका रुपमा विकास गर्नुपर्नेमा अवधारणापत्रमा जोड दिइएको छ । नगरपालिकाभित्र चक्रपथ विकास गर्नुपर्ने, हवाई मैदान छिटो सम्पन्न गर्नुपर्ने, मेची राजमार्गको चापलाई ध्यान दिँदै फराकिलो बनाउन अवधारणापत्रमा समेटिएको छ ।

एमालेले पाँच वर्षभित्र सम्पन्न गर्न बाह्रै महिना सवारी चल्ने सडक निर्माण गर्ने, गाविसको केन्द्रलाई स्थानीय नागरिकले नै छनोट गरी प्रशासनिक केन्द्र बनाउने, ५० प्रतिशत भूभागमा वन विकास गर्ने, विद्युत्भार कटौतीमुक्त गर्नेलगायत विषयलाई ‘नमुना इलाम’का रुपमा अघि सारेको छ ।

एमालेका जिल्ला अध्यक्ष राम रानाले जिल्लामा एमालेले अन्य दलभन्दा भिन्न तरिकाले विकासको नयाँ अवधारणाका साथ प्रस्तुत गरेको र भिन्न तरिकाले जिल्लाको विकासलाई अघि बढाउन एमाले अवधारणापत्रसहित अघि बढेको बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य तथा मेची अञ्चल इञ्चार्ज हिक्मत कार्कीले एमाले इलामले अघि सारेको विकासको अवधारणा जिल्लामै मात्र नभएर देशमै नमुना र प्रशंसनीय भएको जिकिर गर्नुभयो ।

प्रतिक्रिया