तीन गाउँका बासिन्दाद्वारा बस्ती स्थानान्तरणको माग

इनेप्लिज २०७२ असार ५ गते ३:२५ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ५ असार । पहिरोको उच्च जोखिममा रहेका म्याग्दीका तीनवटा गाउँका बासिन्दाले बस्ती स्थानान्तरणको माग गरेका छन् ।

जिल्लाको बेनी नगरपालिका–४ बगरफाँट, सुर्केमेला र जुगेपानीका बासिन्दाले बस्ती स्थानान्तरणको माग गरेका हुन् ।

बगरफाँटका १९५, सुर्केमेलाका २६ र जुगेपानीका ८० घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले बस्ती स्थानान्तरणको माग गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
तोराखेतको पहिरोका कारण विगत पाँच वर्षदेखि नै खतरायुक्त मानिएको बगरफाँट गाउँ अहिलेको भूकम्पका कारण चर्किएर पहिरो आउन थालेपछि झन जोखिमपूर्ण बनेको बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो ।

त्यसैगरी भकिम्ली गाविसको चिलवस्ने डाँडाको पहिरोका कारण डाँडाँको पुछारमा रहेको सुर्केमेला गाउँका बासिन्दाले पनि बस्ती स्थानान्तरण गर्नुपर्ने बताएका छन् ।

गत वैशाख १२ गतेको भूकम्प र त्यसयताका पराकम्पनका कारण चिलवस्ने डाँडो धाँजाधाँजा परेर चर्किएको र जुनसुकै बेला पनि खस्न सक्ने र ठूलो विपत्ति निम्तनेसक्ने बताउँदै सम्भावित खतराबाट बच्न बस्ती स्थानान्तरण आवश्यक रहेको स्थानीय दलबहादुर खत्रीले बताउनुभयो ।

त्यसैगरी ओखरबोटको जुगेपानीमा चार वर्षअघिदेखिको पहिरोले पुरै बस्ती जोखिममा परेपछि स्थानीयले सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

बस्तीको पुछारमा रहेको पहिरोका कारण दुई वटा वडाका ८० घरधुरी जोखिममा परेको स्थानीयबासी नविन पुनले बताउनुभयो । पहिरोले यसअघि चार वटा घर बगाइसकेको छ भने जमिन चिरा चिरा परेर धाँजा फाटेको छ ।

प्रतिक्रिया