गाउँमा पानीको मुहान सुक्यो

इनेप्लिज २०७२ असार ४ गते ४:४२ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), ४ असार । चितवनको पहाडी भेगमा पानीको मुहान सुक्न थालेको छ ।

चैत, वैशाखमा समेत नसुक्ने पँधेराहरूमा पानीको मुहान सुक्न थालेपछि समस्यामा परेको स्थानीयले बताएका छन् । भूकम्पका कारण मुहान सुकेको उनीहरूको भनाइ छ ।

काउले गाविसको वडा नम्बर ९ गोछिबाङमा रहेको साउने पँधेरोमा पानी सुकेपछि समस्यामा परेको स्थानीय रामचन्द्र विकले बताउनुभयो । “कहिल्यै सुकेको थिएन, भूकम्प आएको केही दिन मूल फुटेजस्तो भाथ्यो, अहिले भने पानी सुकेर साह्रै समस्या भो” स्थानीय फूलमायाँ विकले भन्नुभयो ।

भूकम्पले एकातर्फ गाउँ बस्तीनै जोखिम भएका बेला पानी समेत सुक्न थालेको उहाँले बताउनुभयो ।

उक्त गाउँमा अहिले २४ घरधुरी छ । सबै घरधुरीलाई स्थानान्तरण गर्ने निर्णय जिल्ला विपद व्यवस्थापन समिति चितवनले गरिसकेको छ । तर पनि बसुन्जेलसमेत खानेपानीमा समस्याले पिरोलेको स्थानीयले बताएका छन् ।

अन्य पहाडी गाविस क्षेत्रमा समेत पानीको मुहान सुकेको खबर आएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । समितिका सूचना अधिकारी बलराम लुईटेलका अनुसार लोथरको बम्पुक खानेपानी आयोजना, समिटार खानेपानी आयोजना कोराक र सिद्धी खानेपानी आयोजनाको मूल समेत सुकेको छ ।

मूल सुकेपछि स्थानीयमा घण्टाँै लगाएर पानीको जोहो गर्नुपर्ने बाध्यता भएको छ । भूकम्पले चितवनको पहाडी गाविस काउले, दारेचोक, सिद्धी, शक्तिखोर, लोथर, कोराक, कविलासलगायत गाविसमा बढी क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया