चारवटा जुट उद्योग बन्दले एक अर्बभन्दा बढीको लगानी डुब्यो

इनेप्लिज २०७२ असार ४ गते ४:३७ मा प्रकाशित

jutपथरी (मोरङ), ४ असार । पूर्वका चारवटा जुट उद्योग बन्द हुँदा एक अर्बभन्दा बढीको लगानी डुब्नुका साथै झन्डै १२ हजार मजदुर बेरोजगार भएका छन् ।

विराटनगर, पाथिभरा, सिएन र निकी जुट मिल बन्द हुँदा ती सङ्ख्याका मजदुर बेरोजगार भएको जुट उद्योग सञ्चालकहरुले बताएका छन् ।

नेपालका ११ जुट उद्योगमध्ये चारवटा जुट उद्योग बन्द भइसकेका छन् । बाँकी आठवटा जुट उद्योग मरितरी सञ्चालन भइरहेका छन् । चलेका आठवटाले उद्योगले समेत क्षमताअनुसारको कच्चापदार्थ नपाएको नेपाल जुट उद्योग सङ्घको भनाइ छ ।

सङ्घका अनुसार हाल सुनसरी र मोरङमा सञ्चालित आठ जुट मिलमध्ये दुईवटाले मुस्किलले ५० प्रतिशत उत्पादन गरिरहेका छन् भने बाँकीले क्षमताको ३० देखि ४० प्रतिशत मात्र उत्पादन गरिरहेका छन् ।

सञ्चालन भइरहेका उद्योग पनि धरासायी अवस्थामा पुगेको सङ्घका अध्यक्ष राजकुमार गोल्छाको भनाइ छ । “लोडसेडिङ, कच्चापदार्थ र बजारको अभाव नै जुट उद्योगका समस्या हुन्”–उहाँले भन्नुभयो ।

जुट उद्योगी तथा जुट उद्योग सङ्घका उपाध्यक्ष प्रकाश मुन्दडाले नेपाली जुटले मुस्किलले ३० प्रतिशत माग धानेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी कच्चा जुट भने भारत र बङ्गलादेशबाट आयात गर्नुपर्ने बाध्यता छ ।”

जुट मिलहरूले उत्पादन गरेका बोरा, झोला, कार्पेटलगायतका सामान नेपालमा खपत भइनसक्ने हुनाले तयारी सामानको मुख्य बजारसमेत भारत र बङ्गलादेश निर्यात गरिने गरिएको थियो । तर त्यहाँको सरकारले जुट उद्योगलाई प्रोत्साहन गरेका कारण त्यहाँको स्थानीय उत्पादन बढेपछि तयारी सामानको निर्यात घटेको जुट उद्योगीको भनाइ छ ।

धमाधम उद्योगहरू बन्द हुन थालेपछि रोजगारीका अवसर पनि गुम्दै गएको छ । दुई वर्षअघिसम्म पूर्वका जुट उद्योगहरूले २२ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएका थिए । तर हाल भने करिब १० हजारले मात्र काम पाएका छन् ।

प्रतिक्रिया