आफूखुसी निर्माण गरिएका अस्पताल भवन पास गराउन दौडधुप

इनेप्लिज २०७२ असार ४ गते ४:३५ मा प्रकाशित

पथरी (मोरङ), ४ असार । भवन निर्माण आचारसंहिता प्रयोग नगरी आफू अनुकूल भवन निर्माण गरेका निजी क्षेत्रबाट सञ्चालित अधिकांश अस्पतालका सञ्चालकहरू अहिले नक्सा पास गराउन दौडधुपमा लागेको पाइएको छ ।

भवन निर्माण गर्दा सहरी तथा भवन निर्माण डिभिजन कार्यालयस“ग समन्वय गरेर निर्माण गरिनुपर्ने भएपनि आफूखुसी भवन निर्माण गरेका अस्पताल भवन पास गराउन दौडधुप गर्दै आएको सहरी तथा भवन निर्माण डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।

डिभिजन कार्यालयबाट फारमभरी सुरक्षा अस्पताल, नोवेल अस्पताल, गोल्डेन हस्पिटल, ग्रिनक्रस हस्पिटल, विराटनगर अस्पताल, मोरङ सहकारी अस्पताल, आरके चिल्डन हस्पिटल, तापडिया अस्पताल, अवोध नारायण मेमोरियल क्लिनिक भवन पास गराउन भन्दै दौडधुप गरिरहेका छन् ।

डिभिजन कार्यालयका सूचना अधिकृत पूर्णराज कार्कीले निर्माणअघि नै कार्यालयस“ग समन्वय गरेर भवन आचारसंहिता लागु गर्नुपर्ने भएपनि अधिकांश अस्पताल भवन निर्माणपछि मात्र नक्सा पास गराउन आउने गरेको बताउनुभयो ।

विराटनगरमा सञ्चालित न्युरो अस्पतालले नयाँ भवन निर्माण गरेपनि भवन पास नै नगरेको स्रोतले बताएको छ ।

स्वास्थ्य मन्त्रालयबाट भवन स्वीकृत गराउन भवन निर्माण तथा सहरी डिभिजन कार्यालयबाट सिफारिस लिएर जानुपर्ने बताइएको छ । भवन आचारसंहिताअनुसार भवन निर्माण भए नभएको जाँच गरेरमात्र कार्यालयले सिफारिस दिने गरेको सूचना अधिकृत कार्कीको भनाइ छ ।

भवन उपयुक्त नभए मन्त्रालयले दिने सेवा सुविधा कटौती हुने भन्दै अधिकांश अस्पताल भवन स्वीकृत गराउन लागिपरेका हुन् । सामान्य घर भाडामा लिएर सञ्चालित अस्पताल भवन संहिता लागु गर्न भन्दै दौडधुपमा लागि रहेको स्रोतले बताएको छ ।

मापदण्ड पूरा नगरी भवन संहिताबमोजिम नक्सा स्वीकृत गरे नगरेको सम्बन्धमा सहरी विकास कार्यालयले आवश्यक जाँचबुझ गरी कसैले ऐनबमोजिम नक्सा स्वीकृत नगराई वा त्यस्तो स्वीकृत नक्सा वा भवन संहितामा उल्लिखित मापदण्डविपरीत भवन निर्माण गरे भवन ऐन २०५५ अनुसार भवन भत्काउन वा त्यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई रु ५० हजारसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया