जिल्लाभरका योजनाको अनुगमन सुरु

इनेप्लिज २०७२ असार ४ गते ४:२४ मा प्रकाशित

Mustang_district_locationमुस्ताङ, ४ असार । जिल्ला विकास समिति मुस्ताङले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विकास योजनाको स्थलगत अनुगमन सुरु गरेको छ ।

जिविसका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत जीवन ज्ञवालीको नेतृत्वमा जिल्लास्थित राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था र सरोकारवाला निकाय सम्मिलित टोलीले जिल्लाका १६ वटै गाविसमा सञ्चालित योजनाको अनुमगन सुरु गरेको हो ।

तल्लो क्षेत्रबाट सुरु गरिएको अनुगमन केही समयपछि उपल्लो मुस्ताङका गाविसमा पनि पुग्ने जिविसले जनाएको छ ।

टोलीले शिक्षा, स्वास्थ्य, यातायात, सिँचाइ, पदमार्ग, खानेपानी, विद्युत्, कृषि, मर्मतसम्भारलगायतका क्षेत्रमा विनियोजित बजेट सम्बन्धित काममा प्रयोग गरिएको छ÷छैन भन्ने विषयमा अनुगमन गर्ने जिविसका कार्यक्रम अधिकृत केदारसिंह थापाले जानकारी दिनुभयो ।

जिविसले चालु आर्थिक वर्षमा १६ वटै गाविसमा ३५० योजना सञ्चालन गरिरहेको छ । तीमध्ये अधिकांश योजना तल्लो क्षेत्रमा केन्द्रित छन् ।

“अनुगमनका क्रममा उपभोक्ता समितिले गरेका कामको अध्ययन, अन्तरक्रिया र छलफल हुन्छ, गुणस्तरीय काम भएको छैन भने स्थलगतरुपमै निर्देशन पनि दिन्छ, कार्यक्रम अधिकृत थापाले भन्नुभयो, “यसबाट योजनाहरूमा हुने अपारदर्शिताको अन्त्य हुन्छ ।”

जिल्लाको उपल्लो क्षेत्रमा सञ्चालित योजनाहरूको कार्यान्वयनमा भने केही समस्या देखिएको छ । बेमौसमी हिमपात र चिसाले त्यहाँका योजनाहरू समयमै सम्झौता नहुने र भएपनि काम सम्पन्न गर्न समय अभाव हुने गरेको स्थानीय उपभोक्ताहरूले जानकारी दिएका छन् ।

यस्तै समस्यालाई ध्यानमा राखी जिविसले अर्थमन्त्रालयलाई असोज महिनासम्म बजेट फ्रिज नहुने व्यवस्था मिलाउन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया