रोजगारीका लागि मलेसियामा पुगेका दुई नेपालीको मृत्यु

इनेप्लिज २०७२ असार ३ गते १४:३७ मा प्रकाशित

10390519_10153107071768999_1275911941292860647_nसप्तरी, ३ असार । रोजगारीका सिलसिलामा मलेसियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै आज फेरि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको भारदह गाविस–५ निवासी रामेश्वर दासको छोरा २६ वर्षीय उपेन्द्र रहेको मलेसियामा रहेका उनको भाइ दीपेन्द्र दासले टेलिफोनमार्फत आज जानकारी गराउनुभएको हो । दासका अनुसार कुन कम्पनीमा कार्यरत रहेको र कसरी मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । एक वर्ष अगाडि रोजगारीका सिलसिलामा उपेन्द्र मलेसिया गएका थिए । यसअघि मलेसियाको माइटेक कम्पनीमा कार्यरत सप्तरीको बरहीबिरपुर गाविस–९ निवासी २३ वर्षीय प्रभुकुमार यादवको राति अचानक पेट दुखेको र तत्कालै अस्पताल भर्ना गरे पनि उपचारकै क्रममा दुई दिन अगाडि मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । यादव एक वर्ष अगाडि मलेसिया पुगेका थिए । दुवै जनाको शव नेपाल ल्याउनका लागि उनीहरुको परिवारजनले नेपाल सरकारसँग आग्रहसमेत गरेका छन् । रासस

प्रतिक्रिया