साल्टट्रेडिङले बेच्यो डेढ करोडको मल

इनेप्लिज २०७२ असार ३ गते ११:५६ मा प्रकाशित

बलेवा (बागलुङ), ३ असार । साल्टट्रेडिङ कर्पोरेसन बागलुङ डिपोले जेठ मसान्तसम्ममा रु एक करोड ४३ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ ।

कर्पोरेसनले चालु आर्थिक वर्षको साउन महिनादेखि जेठ मसान्त सम्ममा ४८८ दशमलव २५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको हो । गत वर्ष १८७ दशमलव ६५ मेट्रिक टन बिक्री गरेकोमा यस वर्ष ३०० मेट्रिक टन मल बिक्री गरेको जनाएको छ ।

नेपाल सरकारको अनुदान प्राप्त रासायनिक मल धौलागिरि अञ्चलका जिल्ला कृर्षि विकास कार्यालयका अनुमति प्राप्त सहकारीलाई मल वितरण गरेको शाखा प्रमुख मनोज श्रेष्ठले बताउनुभयो । व्यापारीका लागि रु ३० हजार र सहकारीका लागि रु पाँच सय धरौटी बुझाएबापत मल उपलव्ध गराउने गरेको उहाँले बताउनुभयो ।

डिपोले कृषि सहकारीलाई नुन र चिनी सरकारी दरमा उपलव्ध गराइएको छ । म्याग्दीमा पोखराबाट ल्याउने ढुवानी अनुदान सरकारले कटौती गरेपछि त्यहाँका सहकारी यहाँ आउन थालेका कारण गतवर्ष भन्दा बिक्री बढेको श्रेष्ठले बताउनुभयो । हालसम्म बागलुङ्का १४, म्याग्दीका सात र पर्वतका पाँच सहकारीले अनुमति लिएका छन् ।

“युरिया ३२५ मेट्रिक टन, डिएपी १५६, पोटास सात मेट्रिक टन बिक्री गरी रु एक करेड ४३ लाख १० हजार १८० रुपैयाँको कारोबार भएको छ” उहाँले भन्नुभयो । यहाँबाट रासायनिक मल बिक्री हुने गरेकाले धौलागिरिका किसानलाई पोखरा जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया