जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि खानेपानीको हाहाकार

इनेप्लिज २०७२ असार ३ गते ५:५५ मा प्रकाशित

Khotang_district_locationखोटाङ, ३ असार । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि खोटाङको मङ्गलटारमा खानेपानीको हाहाकार भएको छ ।

दुर्छिम र बडहरेको सिमानामा पर्ने गोलीथुम्का जङ्गलमा लागेको डढेलोले खानेपानीको पाइप जलेपछि मङ्गलटार–४, ५, ६ र ७ मा खानेपानीको हाहाकार भएको हो ।

गत वैशाख २५ गते राति लागेको डढेलोका कारण पाइप जलेपछि मङ्गलटारका २०० घरपरिवार खानेपानीबाट वञ्चित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष युवराज आलेमगरले बताउनुभयो । उहाँले भन्नुभयो, “जङ्गलमा लागेको डढेलोले गाउँमा विस्तार गरिएको खानेपानीको पाइप नष्ट बनाएको छ, महिना दिनयता घन्टौँ हिँडेर पुगिने कुवा र खोलाको पानी ल्याएर खान बाध्य भएका छौँ ।”

उहाँका अनुसार डढेलोले खानेपानीको ५० एमएमको २०० मिटर र ४० एमएमको १५० मिटर पाइप नष्ट भएको छ । छिमेकी गाविस दुर्छिम मुहान भएको खानेपानी आयोजना २०६६ सालबाट सञ्चालनमा ल्याइएको हो ।

डढेलोले पाइप डढेपछि उपभोक्ता समितिले जिल्ला प्रशासन र खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङसमक्ष अवरुद्ध खानेपानी आयोजना सुचारु गराइ दिन माग गरेको छ ।

स्रोतका अनुसार त्यस क्षेत्रमा वर्षा याममा गाईभैँसी चराउन स्थानीयले जानीजानी जङ्गलमा डढेलो लगाउने गरेका छन् । हिउँदमा झरेको पातपतिङ्गर डढाएमा भुइँबाट घाँस पलाउँछ भन्ने मान्यताका साथ डढेलो लगाउने गरेको स्रोतको दाबी छ ।

दुई दिनसम्म लागेको डढेलोले करोडौँको क्षति भएको छ । स्थानीयले दिएको जानकारीअनुसार त्यस क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी, रुखपात, वन्यजन्तुलगायत जलेर नष्ट भएको छ ।

प्रतिक्रिया