पुस्तकालय सञ्चालनका लागि एम्बुलेन्स

इनेप्लिज २०७२ असार २ गते ४:३९ मा प्रकाशित

ambulanceइलाम, २ असार । जिल्लामै पहिलो पुस्तकालय आर्थिक अभावका कारण सङ्कटमा पर्न लागेपछि यसको दिगो र व्यवस्थित रुपमा सञ्चालन गर्न एम्बुलेन्स खरिद गरिएको छ ।

बरबोटेमा रहेको जनकल्याण सामुदायिक पुस्तकालय सञ्चालनका लागि बरबोटेवासीले चन्दा उठाएर एम्बुलेन्स खरिद गरेका हुन् ।

स्थानीयको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्दै एम्बुलेन्सबाट प्राप्त भएको आम्दानीले पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको पुस्तकालय सञ्चालक समितिका अध्यक्ष सटेन्द्र जवेगुले बताउनुभयो ।

एम्बुलेन्सका लागि बरबोटेवासीले चन्दा सङ्कलन गर्न अभियान सञ्चालन गरेका छन् । दुई महिनादेखि सञ्चालन गरेको उक्त अभियानमा करिब एक हजार जनाले रु २० देखि २० हजारसम्म व्यक्तिगत रुपमा र एक लाखसम्म संस्थागत सहयोग गरेका छन् । स्थानीय बासिन्दा, सङ्घसंस्थाबाट रु सात लाख ५० हजार सङ्कलन भएको छ ।

यसैबीच पुस्तकालय स्थापना गर्न रिड नेपालले रु दुई लाख सहयोग गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको अध्यक्ष जवेगुले जानकारी दिनुभयो ।

पुस्तकालयमा कर्मचारी, बजारमा आउने नयाँ–नयाँ पुस्तक, पुस्तकालयको मर्मतसम्भार आदि विभिन्न शीर्षकमा वार्षिक रु दुईदेखि अढाई लाखसम्म खर्च लाग्ने गरेको छ । “पुस्तकालयको खर्च धान्न समस्या भएपछि स्वास्थ्य सेवा समेत पुग्ने, पुस्तकालय सञ्चालनमा पनि सहयोग पुग्ने भएकाले एम्बुलेन्स सञ्चालन गर्न लागेका हौँ,” पुस्तकालयका कर्मचारी नेत्र लुईंटेलले भन्नुभयो ।

प्रतिक्रिया