एमाले स्थायी कमिटी: सहमतिले संविधान सुनिश्चित

इनेप्लिज २०७२ असार १ गते १४:१४ मा प्रकाशित

UML_20141013053350_20141013062631-300x225काठमाडौँ, १ असार । नेकपा (एमाले) को स्थायी कमिटीको १६ औँ बैठकले चार प्रमुख दलबीच भएको सहमतिले राष्ट्रिय राजनीतिलाई सकारात्मक बनाउनुका साथैै संविधान निर्माण सुनिश्चित गराएको ठहर गरेको छ ।

पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गत जेठ २५ मा भएको सो सहमतिबारे जानकारी गराउँदै पार्टीको सम्पूर्ण शक्ति संविधान निर्माणमा केन्द्रित हुने र यही असारभित्रै लोकतान्त्रिक संविधान जारी गराउन सक्रियता अपनाउन संविधानसभाको मस्यौदा समितिमा रहेका आफ्ना सदस्यलाई निर्देशित गरेको छ ।

अध्यक्ष ओलीले सहमतिमा असहमत केही दललाई सहमतिमा ल्याउन अधिकतम् प्रयास गरिने, अन्यथा प्रक्रियाबाट संविधान जारी हुने जनाउँदै त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठन र विपत्तिपछिको पुनःनिर्माणमा मुलुक होमिने बैठकलाई जानकारी गराउनुभएको पार्टीका सचिव प्रदीप ज्ञवालीले पत्रकारलाई बताउनुभयो ।

बैठकले पार्टीका सल्लाहकार परिषद्मा नवौँ महाधिवेशन अघिका कार्यकालका केन्द्रीय सदस्य रहेका भरतमोहन अधिकारीलगायत ३३ नेतालाई चयन गरेको छ । परिषद्को सभापति सदस्यमध्येबाट परिषद्को बैठकले छान्नेछ ।

यस्तै विभिन्न अञ्चल कमिटी, केन्द्रीय विभाग र राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य मनोनयनका लागि पार्टीको सङ्गठन विभागले तयार पारेको नियमावली संशोधनको मस्यौदा अध्ययन गरी अर्काे बैठकमा प्रस्तुत गर्ने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।

बैठकले हृदयघातबाट आज निधन हुनुभएका नेता बाबुराम चौधरीप्रति श्रद्धाञ्जलि व्यक्त गरेको भने अध्यक्षका ओलीको बुधबारदेखि एक साताका लागि नियमित स्वास्थ्य परीक्षणका थाइल्यान्ड भ्रमणको सफलताको कामना पनि गरेको छ ।

प्रतिक्रिया