फाल्गुनानन्द मार्गलाई उच्च प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

इनेप्लिज २०७२ असार १ गते १४:०२ मा प्रकाशित

Different political representatives from Mechi zone submits memoकाठमाडौँ, १ असार । प्रधानमन्त्री सुशील कोइरालाले दमक–चिसापानी–रवि हुँदै ताप्लेजुङ छिचोल्ने फाल्गुणानन्द मार्गलाई उच्च प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिनुभएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लाको मुख्य राजनीतिक दलका सभासद् र जिल्लाका नेता सम्मिलित प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले सो निर्देशन दिनुभएको हो ।

ज्ञापनपत्रमा झन्डै २३ वर्ष अगाडि निर्माण कार्य थालनी भएको सो मार्ग निर्माणमा पर्याप्त बजेट विनियोजन नगरिएको ब्यहोरा उल्लेख गर्दै आगामी बजेटमा रु तीन अर्ब विनियोजन गर्न माग गरिएको छ ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा बन्दै गएको विकासको वातावरण नबिथोलियोस् भन्ने कुरामा सबै सचेत हुनुपर्ने बताउँदै उहाँले भारत र चीन दुवै मित्रराष्ट्रले नेपालमा शान्ति, विकास र राजनीतिक स्थायित्व चाहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले मुलुक सङ्कटमा परेको बेला राजनीतिक दलहरुबीच भएको उच्चस्तरको सहमतिले संविधानसभाबाट आठ वर्षपछि संविधान आउने वातावरण बनेको छ, त्यसलाई सफल बनाऔँ भन्नुभयो ।

मेची अञ्चलका सभासद् र राजनीतिक दलका नेताहरुले ताप्लेजुङमा हालै आएको पहिरोपीडितलाई राहत पुर्‍याउन हेलिकप्टरको व्यवस्था गर्न माग गरेपछि प्रधानमन्त्री कोइरालाले हेलिकप्टरको व्यवस्था गरी पीडितसमक्ष यथाशीघ्र राहत पुर्‍याउने प्रबन्ध गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जनाउनुभएको छ ।

प्रतिक्रिया