तरकारी बेचेरै किसानले लाखौंँ कमाउछन्

इनेप्लिज २०७२ असार १ गते ९:३१ मा प्रकाशित

tarkariरत्ननगर (चितवन), १ असार । तरकारीको पकेटक्षेत्र मानिने चितवनका किसानले तरकारी बेचेरै वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन् ।

उनीहरुले आफू लाखौँं कमाउने मात्र हैन तरकारीखेतीमा साना किसानलाई आकर्षित गर्दै बेरोजगारलाई रोजगारी पनि दिने गरेका छन् ।
किसान जीवसलाल राउत रौतहटबाट चितवन आउँदा खेतमा काम गर्ने मजदुर हुनुहुन्थ्यो । तर आफै तरकारीखेती गर्न थालेपछि भने उहाँ अरु मजदुरलाई काम दिनसक्ने भइसक्नु भएको छ ।

“यता आउँदा दिनको रु दुईसय खेतमा मजदुरी गरेर कमाउथे” उहाँले भन्नुभयो,” “अहिले आफ्नै तरकारी बेचेर वर्षको रु ४० लाख कमाउँछु ।” उहाँले गीतानगरमा १० बिगाहा क्षेत्रफलको खेतबारीमा एक्लै तरकारीखेती गर्नुभएको छ । जहाँ १८ जना मजदुरले रोजगारी पाएका छन् । करेला, रामतोरिया, ,गोलभेँडा, लौका, चिचिन्डो, घिरौला, काँक्रा, खुर्सानी, भन्टा, बोडीलगायतका तरकारी उहाँको खेतबारीमा फलिरहेका छन् । करेलामात्र उहाँले तीन बिगाहामा लगाउनु भएको छ ।

“सुरुमा मजदुर थिएँ अहिले मालिक भएको छु” उहाँले भन्नुुभयो । उहाँ विसं २०४६ मा रौतहटबाट काम खोज्दै चितवन छिर्नु भएको हो । खेतबारीमा काम गर्दागर्दै एकदुई कट्ठा जग्गा भाडामा लिएर तरकारी लगाउन थाल्नुभयो । त्यसपछि बचेको पैसाले भाडाको जग्गा बढाउँदै गएपछि एक्लैले १० बिगाहाको तरकारीखेती गर्नसक्ने बनेको उहाँले बताउनुभयो ।

उहाँले झै आफ्नै तरकारी खेतीबाट नाम र दाम दुबै कमाउनु भएको अर्का किसान चन्द्रबहादुर अधिकारी आफू मात्र होइन गाउँका अरु किसानलाई पनि खेतीमा सघाउनु हुन्छ । फूलबारी क्षेत्रमा उहाँले गर्नुभएको प्राङ्गारिक तरकारीखेती हेर्न स्वदेशका विभिन्न क्षेत्रबाट किसान आउने गर्छन् ।

“गाउँका २०० भन्दा बढी किसानलाई सहकारीमा आवद्ध गराएर खेती गरिरहेको छु” उहाँले भन्नुभयो । सहकारीले लाखाँैंको कारोबार गर्छ । मल, बीउ र तरकारी तथा अन्न उत्पादनमा कहलिएको उहाँले थुप्रै सम्मान र पुरस्कार पनि पाइसक्नु भएको छ ।

चितवनको पश्चिमी भेग अहिले तरकारी खेतीका लागि फस्टाउँदै गरेको क्षेत्र हो । यहाँका किसान मौसमी बेमौसमी तरकारीखेती गरेर आफू मात्र होइन अरुको परिवारलाई पनि आम्दानीको बाटो देखाउने गर्छन् । विदेश जान लागेका युवा, विदेश गएर फर्किएका र नितान्त बेरोजगार भएका युवालाई लक्षित गरेर नेपाल सरकारले चलाइरहेको अनुदान कार्यक्रममा उहाँहरु पनि सहभागी हुनुहुन्छ ।

वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेका अनुसार सरकारले मध्य पहाडका नौ तथा तराईका १६ जिल्लामा यो कार्यक्रम लागू गरेको छ । उक्त कार्यक्रम अन्तर्गत यहाँ ४७ बिगाहा क्षेत्रफलमा तरकारीखेती भइरहेको छ । जिल्लामा छ हजार २०० हेक्टरमा तरकारीखेती हुने गरेको छ ।

प्रतिक्रिया