किसानलाई माछाका भुरा

इनेप्लिज २०७२ असार १ गते ९:२५ मा प्रकाशित

762इलाम, १ असार । जिल्ला कृषि विकास कार्यालयले अभियानमुखी माछा उत्पादन कार्यक्रम अन्तर्गत माछापालक किसानलाई पोखरी निर्माणका लागि अनुदान र माछाका भुरा वितरण गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत नयाँ पोखरी निर्माणका लागि रु १० हजारका दरले ३० जनालाई अनुदान वितरण गरेको हो । पोखरी निर्माणका लागि मङ्गलबारे, बरबोटे, साकफारा, चुलाचुली, पशुपतिनगर, जीतपुर, सिद्धिथुम्का र महमाई गाविसमा अनुदान दिइएको कार्यालयकी प्राविधिक सहायक पार्वती लिम्बूले बताउनुभयो ।

पोखरी निर्माणका लागि कार्यालयले रु आठ लाख अनुदान वितरण गरेको छ । अनुदानको रकमबाट एक रोपनी जग्गामा किसानले पोखरी निर्माण गरेका छन् । मत्स्य विकास निर्देशनालय काठमाडौंले कृषि विकास कार्यालयमार्फत उपलब्ध गराएको उक्त अनुदान कार्यालयले किसानलाई वितरण गरेको हो ।

जिल्लाका विभिन्न स्थानमा माछापालक किसानलाई कमन, ग्रास र कार्प जातका भुरा वितरण गरिएको छ । कार्यालयले पटकपटक गरेर किसानलाई पाँच सय ५० किलो भुरा वितरण गरेको हो । बरबोटे, सुम्वेक, सुलुबुङ, माइपोखरी, मङ्गलबारे, पुवाझुवा, साँखेजुङ, जीतपुरलगायतका गाविसमा माछापालन गरिरहेका किसानलाई ढुवानी र प्याकेजिङ अनुदानमा भुरा वितरण गरिएको लिम्बूले बताउनुभयो ।

तापक्रम र दानाको उचित प्रबन्ध मिलेमा छोटो समयमा नै माछाबाट धेरै आम्दानी लिन सकिने किसान बताउछन् ।

प्रतिक्रिया