देवीस्थानमा सिँचाइ योजना निर्माण

इनेप्लिज २०७२ असार १ गते २:२८ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १ असार । म्याग्दीको देवीस्थान गाविसको मगरदाङमा रु ११ लाखको लागतमा बुकमारे जलवत क्षेत्र साना सिँचाइ आयोजना निर्माण भएको छ ।

आयोजना निर्माण भएपछि देवीस्थान– ५, ६ र ७ का ७१ घरधुरीका कृषक लाभान्वित भएका छन् । देवीस्थानको मालिका महिला बचत तथा ऋण सहकारी संस्थाको पहलमा निर्माण भएको आयोजनाबाट १५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको संस्थाकी अध्यक्ष पिपला बुढाथोकीले जानकारी दिनुभयो ।

अध्यक्ष बुढाथोकीका अनुसार सिँचाइ आयोजना निर्माणका लागि प्लान नेपालको सहयोगमा सहमतिद्वारा सञ्चालित बालिका शक्ति परियोजनाले रु नौ लाख ४० हजार अनुदान सहयोग गरेको थियो ।

यसैगरी जिल्ला कृषि विकास कार्यालयले रु ३७ हजार ४१७ बराबरको ११० एमएमको १५० मिटर र ७५ एमएमको २०० मिटर पाइप उपलब्ध गराएको छ ।

रु एक लाख ५० हजार थप लगानी गरेका स्थानीयवासीले आयोजनाको ३६० मिटर पक्की कुलो निर्माण गर्न छ दिनका दरले श्रमदान गरेका थिए । सिँचाइ आयोजना निर्माण भएपछि खेतीबाली र तरकारी खेतीका लागि सहज भएको छ । आयोजनालाई विस्तार गर्न सरकारी निकाय तथा गैरसरकारी सङ्घ संस्थासँग सहयोगको अपेक्षा गरिएको अध्यक्ष बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया