एनआरएनद्वारा वार्ता समिति गठन

इनेप्लिज २०७२ जेठ ३२ गते २०:४४ मा प्रकाशित

DSC_0418-335x232बाल्टिमोर,अमेरिका,जुन १४ | डेढ महिना पहिले सम्पन्न एनआरएन अमेरिकाको निर्वाचन परिणामलाई लिएर चुनावी मैदानमा उत्रिएका विभिन्न पदका १९ जना उम्मेदवारहरुले असहमति सार्वजनिक गरेपछि अहिले एनआरएन अमेरिकाको आन्तरिक विवाद सतहमा आएको छ | जसका कारण निर्माण हुँदै गरेको एनआरएन अमेरिकाको संगठनात्मक साख गुम्ने चिन्ता समेत एनआरएन समुदायका शुभेच्छुकहरुमा देखिएको छ |

अप्रिल १६ देखि २० तारिखसम्म भएको अनलाईन निर्वाचन परिणामप्रति असन्तुष्टी जनाउदै चुनावी मैदानका उम्मेदवारहरुले एनआरएन आइसीसीका अध्यक्ष शेष घलेलाई गत मे ३० तारिख पत्र लेखी यसका बारे छानबीन गर्न आग्रह गरेका थिए | आइसीसीका तर्फबाट अमेरिकाका लागि उप क्षेत्रीय संयोजक सोनाम लामाले नव निर्वाचित नेतृत्वलाई कुनै पनि दैनिक नियमित कार्य संचालन नगर्नु भनि पत्राचार गरेपछि यो विवादले अझ उग्र रुप लियो | लामाले आन्तरिक छानबीन जारी रहेको भन्दै केही दिनभित्रै आइसीसीलाई आफ्नो प्रतिवेदन बुझाउने जानकारी दिएका छन् |

एनआरएन अमेरिकाका अधिकांशको एकै विचार छ,यो आन्तरिक किचलोलाई यथाशक्य चाँडो समाधान गरेर संगठनलाई अघि बढाउनु पर्छ | चुनावी मैदानमा रहेका अध्यक्षका ६ प्रत्यासी मध्ये चार जनासहित अन्य पदका उम्मेदवारहरुले आइतवार न्यूयोर्कमा एक पत्रकार भेट गरी आफ्ना असन्तुष्टीहरुको बारे प्रेसलाई जानकारी गराएका छन् | उनीहरुको भनाई छ,’-अनलाईन भोटिंगको गोपनियताप्रति हामी पूर्ण सचेत छौं,तर उम्मेदवारको हैसियतले हामीले ल्याएको अनलाइन मतको परिणाम हेर्न पाउनु पर्ने हाम्रो अधिकार पनि हो,अमेरिका जस्तो प्रजातान्त्रिक मुलुकमा बसेका हामीलाई आफुले ल्याएको मत समेत हेर्न नदिने र हेर्न पाउँ भनेर आग्रह गर्दा अदालत जानुस् भन्ने जुन किसिमको व्यवहार हामीप्रति भएको छ,त्यसका लागि हामीले एनआरएन आइसीसीलाई छानबीन गर्न आग्रह गरेका हौँ र आइसीसीले हाम्रो मागको संवेदनशीलतालाई बुझेर तत्काल जुन कदम लिएको छ,हामी त्यसको सह्राहना गर्दछौं |’

न्यूयोर्कको पत्रकार भेटमा अध्यक्षका चार प्रत्यासी उम्मेद्वारहरु नगेन्द्र पौडेल,श्री पराजुली,गणेश कुँवर र रमा सिंह सहभागी थिए | यसैगरी वरिष्ठ उपाध्यक्ष पदकी उम्मेदवार नेदेन दोङ्गला, महासचिवकी प्रत्यासी कुन्ती थापा, उपाध्यक्ष पदका प्रत्यासीद्वय सन्जीव श्रेष्ठ र सीता खरेल,सह-कोषाध्यक्षका उम्मेदवार रबिन बज्राचार्य र बोर्ड अफ डाइरेक्टरकी उम्मेदवार मिना श्रेष्ठलगायत सहभागी थिए | अध्यक्षकी प्रत्यासी मध्येकी एक मात्र महिला उम्मेदवार रमा सिंहले आइतवार आफ्नो फेसबुक स्टाटसमा आफुहरुको माग बारे प्रष्ट लेखेकी छिन्,-‘ सबै पदका सम्पूर्ण उम्मेदवार कस्ले कति मत पाए …? सबैले हेर्न पाउनु पर्छ भन्ने मात्र हो ….त्यति देखाउन किन गार्हो भै रहेको छ ….समस्या यति मात्रै हो ..? समाधान गर्न कसैले पहल गरी दिनु हुन्छ की …?’

समाधानको पहल 

असन्तुष्ट उम्मेदवारहरुको यही असन्तुष्टीलाई सम्बोधन गरी समाधान गर्न अहिले आन्तरिक रुपमा विभिन्न चरणमा छलफल भैरहेको छ | यता आफ्नो पहिलो औपचारिक बैठकद्वारा नव निर्वाचित नेतृत्वले चार सदस्यीय वार्ता समिति समेत गठन गरी असन्तुष्ट पक्षसंग वार्ता गर्ने निर्णय गरेको छ | न्यूयोर्कमा असन्तुष्ट पक्षले पत्रकार भेट गर्दैगर्दा शनिवार बाल्टिमोरमा पहिलो प्रत्यक्ष औपचारिक बैठक गरेको डाक्टर केशव पौडेल नेतृत्वको नव निर्वाचित कार्य समितिले चुनावको विषयमा भएका विवाद टुंगो लगाउन अध्यक्ष डा.पौडेलकै संयोजकत्वमा चार सदस्यीय वार्ता समिति बनाएको मिडिया संयोजक सर्वज्ञ वाग्लेले आज एक विज्ञप्ति मार्फत जानकारी दिएका छन् | अध्यक्ष पौडेलले शनिवार साँझ नै बैठकस्थलमा ग्लोब नेपाल डट कमलाई दिनु भएको जानकारी अनुसार एक महिनाभित्र असन्तुष्ट साथीहरुसंग वार्ता र छलफल गरी यो समस्या समधान गर्न आफ्नै नेतृत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको बताउनु भएको थियो | समितिमा उपाध्यक्ष बन्दना कोइराला,महासचिव तील (तिलक) श्रेष्ठ र बोर्ड अफ डाइरेक्टर सत्येन्द्र शाह सदस्य हुनुहुन्छ | आइतवार बिहान नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गौतम दाहालले आयोजना गर्नु भएको नव निर्वाचित नेतृत्वको स्वागत एवं भेटघाट कार्यक्रममा वार्ता समितिकी सदस्य एवं एनआरएन अमेरिकाकी उपाध्यक्ष बन्दना कोइरालाले अध्यक्ष दाहाललाई पनि यो समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गरिदिन आग्रह गरेकी थिइन् |

होला त समाधान ?

के चुनावी परिणामप्रति देखिएको अविश्वाससंगै झाङ्गिदै गएको एनआरएन अमेरिकाको यो विवाद सहजै समाधान होला त ? सबैको चिन्ता नै यही छ | असन्तुष्ट पक्ष निकै आक्रामक रुपमा अघि बढिसकेको अवस्था छ भने उजुरी परिसकेपछि अब एनआरएन आइसीसीले पनि यो विषयलाई सम्बोधन गर्नैपर्ने स्थिति छ | यसका लागि त्यति सहज भने पक्कै देखिन्न | तर एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष खगेन्द्र जीसी यो आन्तरिक असहमतिलाई सम्बोधन गर्ने विकल्पका बारे यहींभित्र पहल नगरी असन्तुष्ट साथीहरुले आइसीसी गुहारेका कारण विकसित भएको असमझदारीलाई भुलेर एनआरएनको हितलाई केन्द्रमा राखेर सोच्ने हो भने समाधान नहुने कुरै छैन भन्नुहुन्छ | ‘मलाई विश्वास छ,यो आन्तरिक असमझदारीलाई एक साताभित्रै समाधान गर्न सकिन्छ र गर्नुपनि पर्छ’जीसीले ग्लोब नेपाल डट कम प्रतिनिधिसंग भन्नुभयो | एनसीसीभित्रै न्यायिक समितिलगायत अन्य विकल्प बाँकी छँदै एकैचोटी आइसीसीमा पुगेका कारण सिर्जना भएको अप्ठ्यारोलाई अब हामी बसेर सम्बोधन र समाधान गर्नैपर्छ र हुन्छ भन्ने मलाई पूर्ण विश्वास छ,हामी हाम्रो हक अधिकारमा केन्द्रीत बनौं,विभाजनले हामीलाई कहीं पु-याउदैन त्यसैले यो समस्यालाई जटिल नबनाउन म सबै पक्षलाई आग्रह गर्दछु’जीसीले भन्नु भयो |

जीसीकै पहलमा अहिले आन्तरिक रुपमा यो समस्याको गाँठो फुकाउने विकल्पहरुको खोजी भैरहेको छ | ‘असहमत साथीहरु पनि यो संगठन निर्माणमा उत्तिकै योगदान गर्नु भएका जिम्मेवार साथीहरु हुनुहुन्छ,उहाँहरुले पनि यसलाई अत्यन्त जिम्मेवार भएर हेर्नु भएको छ,मलाई विश्वास छ हामी यसलाई केही दिनभित्रै समाधान गर्न सक्छौं’ जीसीको विश्वास छ | कसैको पनि व्यक्तिगत गोपनीयताको अधिकारमाथि असर नपर्ने गरी निर्वाचन परिणाम हेर्न चाहने उम्मेदवारहरुको माग सम्बोधन गर्न आनाकानी गर्न आवश्यक नभएको भन्दै जीसीले असन्तुष्ट पक्ष र नव निर्वाचित नेतृत्वका पक्षबीच अहिले समझदारी निर्माणका लागि पहल गरिरहनु भएको छ |

वार्ता समिति गठन बारे एनआरएन अमेरिकाका नव निर्वाचित अध्यक्ष डाक्टर केशव पौडेल :

प्रतिक्रिया