दलित बस्तीमा फैलिएको अज्ञात रोग पूर्ण नियन्त्रणमा

इनेप्लिज २०७२ जेठ ३२ गते १:२३ मा प्रकाशित

लहान, ३२ जेठ । विगत एक सातादेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस–६ स्थित दलित बस्तीमा फैलिएको अज्ञात रोग पूर्ण नियन्त्रणमा आएको छ ।

एक्कासि रिङगटा लाग्ने र बान्ता आउनेजस्ता लक्षण देखिने अज्ञात रोगका कारण पाँच जनाको मृत्यु भएको थियो ।

अज्ञात रोगबाट प्रभावित अधिकांश बिरामीको जिल्ला अस्पताल सिरहामा र अन्य बिरामीको गाउँमै चिकित्सकको निगरानीमा उपचार गरेपछि रोग पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्कर लाल कर्णले जानकारी दिनुभयो । रोगको पहिचान गर्न बिरामीको रगत परीक्षणका लागि काठमाडाँै पठाइएको र त्यहाँबाट अझै रिपोर्ट आउन नसकेको उहाँले बताउनुभयो ।

गत जेठ २३ गतेदेखि फैलिएको अज्ञात रोगबाट चन्द्रअयोध्यापुर गाविस–६ निवासी ३२ वर्षीय जिवसी सदा, ३५ वर्षीय तुलवा सदा, ६५ वर्षीय गर्वा सदा र लहान नगरपालिका–२ निवासी कौशिल्या सदा र ३० वर्षीय सुनिल सदाको मृत्यु भएको थियो ।

बस्तीभरि नै रोगको प्रकोप फैलिएकाले प्रभावित स्थानमा चिकित्सक टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया