भत्किएका खानेपानी संरचना निर्माणमा १८ अर्ब

इनेप्लिज २०७२ जेठ ३२ गते १:२२ मा प्रकाशित

काठमाडौँ, ३२ जेठ । गत वैशाख १२ गतेको भूकम्प र पटक–पटकका पराकम्पले क्षति पु¥याएको खानेपानीको संरचना निर्माणका लागि रु १८ अर्ब लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

भत्किएका खानेपानी संरचनामा स्तरीय पानी वितरणका लागि सो रकम खर्चनुपर्ने मन्त्रालयका सूचना अधिकारी कवीन्द्रविक्रम कार्कीले जानकारी दिनुभयो । “अति प्रभावित १४ जिल्लामा ४६ प्रतिशत र प्रभावित १७ जिल्लामा १५ प्रतिशत खानेपानी योजनामा क्षति पुगेको प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा आएको छ”– उहाँले भन्नुभयो ।

एक हजार ५७० खानेपानी आयोजनामा पूर्णरुपमा क्षति भएको र तीन हजार ६६३ आयोजनामा आंशिक क्षति पुगेको मन्त्रालयको खानेपानी तथा वातावरण महाशाखा प्रमुख सहसचिव रामचन्द्र देवकोटाले जानकारी दिनुभएको छ । “भूकम्पबाट दुई लाख २० हजार घरायसी शौचालयमा क्षति पुगेको छ, खानेपानी र शौचालयमा गरी रु १० अर्बको क्षति पुगेको प्रारम्भिक प्रतिवेदन मन्त्रालयमा आएको छ”– उहाँले भन्नुभयो ।

फर्पिङबाट ललितपुर लगिएको प्रणालीबाट मर्मतपछि पानी लैजान सुरु गरिए पनि पूर्णरुपमा मर्मत सम्भार र निर्माणका काम भइरहेको मन्त्रालयले जनाएको छ ।

सिन्धुपाल्चोक सदरमुकाम चौतारामा भूकम्पले पानीको लाइन काटिएकामा जोड्ने प्रयासमा लागिएको खानेपानी तथा ढल निकास विभागले जनाएको छ । चौतारामा पानी प्रशोधन केन्द्र निर्माणका लागि जापान सहयोग नियोग (जाइका) ले इच्छा देखाएको विभागका महानिर्देशक रामदीप साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया