खोटाङ, ३१ जेठ । भूगर्भविद्ले भूकम्पका कारण उच्च जोखिममा परेका खोटाङका मानववस्ती पहिचानको काम थालेका छन् ।
खानी तथा भूगर्भ विभागले पठाएका दुईजना भूगर्भविद्को टोलीले पश्चिमी गाविस बाहुनीडाँडा पुगेर भूकम्पबाट उच्च जोखिममा परेका बस्ती तथा आवास पहिचानको काम थालेको हो ।
गत वैशाख–१२, १३ र २९ गतेका भूकम्प र पराकम्पनका कारण अत्यन्त जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई अन्यत्र लगेर अस्थायी आवासको व्यवस्थापन गर्न स्थलगत अध्ययन थालेको विभागले जनाएको छ ।
भूकम्पका कारण क्षतविक्षत बनेको बाहुनीडाँडा–५ ट्याम्टुकमा पुनः ‘मानववस्ती बनाउन सकिने सम्भावना भए–नभएको’ अध्ययन गर्न भूगर्भविद् त्यहाँ पुगेका जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो ।
भूकम्पका कारण सबै घर ढलेको बाहुनीडाँडाको ट्याम्टुकमा पुनः मानवबस्ती बसाल्न ‘योग्य वा अयोग्य’ रहेको पत्ता लगाउने काम गरिने भूगर्भविद नरेश महर्जनले बताउनुभयो ।
भूगर्भविद्को टोलीले उच्च जोखिममा परेका बस्तीको एकीकृत तथ्याङ्क तयार गरी अस्थायी वस्ती बसाउन सकिने ठाउँ वा आवासयोग्य क्षेत्रको समेत पहिचान गर्ने जनाइएको छ ।
प्रतिक्रिया