कनकाइ नगरको विकासका लागि आठबुँदे घोषणापत्र जारी

इनेप्लिज २०७२ जेठ ३१ गते १:५६ मा प्रकाशित

52738552667e33eb1fba35383a2da217_Lसुरुङ्गा (झापा), ३१ जेठ । सूचना, सञ्चार र विकासलाई एकैसाथ अगाडि बढाउँदै झापाको कनकाई नगर क्षेत्रलाई नमुनाको रुपमा विकसित गराउन यस क्षेत्रका सञ्चारकर्मी र नागरिक समूहका अगुवा एकमत भएका छन् ।

शनिबार सुरुङ्गा प्रेस क्लबको आयोजनामा भएको ‘स्थानीय निकायको विकासका लागि सञ्चारको भूमिका’ विषयक कार्यक्रममा सहभागीले नगरलाई विकसित गराउन एकमत भएका हुन् ।

कार्यक्रममा नगरको विकासका लागि आठबुँदे सुरुङ्गा घोषणापत्रसमेत जारी गरिएको छ ।

घोषणापत्रमा कनकाई नगरपालिका तथा नगर क्षेत्रका हरेक गतिविधिलाई पारदर्शी बनाउन पत्रकार आफ्नो उत्तरदायित्वप्रति जवाफदेही रहने उल्लेख गरिएको छ ।

त्यस्तै, घोषणापत्रमा विकास निर्माणलगायतका अन्य गतिविधि, सांस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसारको यस क्षेत्रका राजनीतिक दल, सरोकारवाला निकाय र पत्रकारबीच कार्यगत एकता कायम गरी संस्थागतरुपमा अगाडि बढ्ने उल्लेख छ ।

कार्यक्रममा झापाका पत्रकार मदन ढकाल र गोपाल काफ्लेले ‘स्थानीय निकायको विकासका लागि सञ्चारको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि पत्रकार राजु अधिकारी, साहित्यकार कोमलप्रसाद पोखरेल र नारी सञ्चार गृह झापाका अध्यक्ष सावित्रा दाहालले टिप्पणी गर्नुभएको थियो ।

यसैगरी भौतिक विकासलाई मात्र विकासको सूचक नमानी अन्य यस क्षेत्रको चेतनास्तर वृद्धिका लागि एकैसाथ अघि बढ्नु पर्ने कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा राजनीतिकर्मी हिरा थापा, कोमलप्रसाद पन्त, नेत्र चिमरियालगायतले स्थानीय निकायको विकासमा सञ्चारकर्मीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया